• Monday 5th of October 2026

रोनाल्डोले चाहे पोर्चुगलको टोलीमा फर्कन सक्छन्: प्रशिक्षक जर्ज जेसस


  • धनकुटा खबर
  • .

काठमाडौँ, १९ असोज । पोर्चुगलका मुख्य प्रशिक्षक जर्ज जेससले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले चाहेको खण्डमा पुनः राष्ट्रिय टोलीमा फर्कन सक्ने बताएका छन्।

 

युइएफए नेसन्स लिगअन्तर्गत नर्वेविरुद्धको खेलमा बेन्चमै सीमित भएपछि र डेनमार्कविरुद्धको आगामी खेलमा पनि सुरुवाती-११ मा नपर्ने जानकारी पाएपछि ४१ वर्षीय कप्तान रोनाल्डोले प्रशिक्षण शिविर छाडेका थिए।

 

शिविर छाडेलगत्तै रोनाल्डोले सामाजिक सञ्जालमा लेखेका छन्, “उचित समय आएपछि म सम्पूर्ण पोर्चुगिज जनतालाई राष्ट्रिय टोली छाड्नुको वास्तविक कारण बताउनेछु। म सधैँ यो टोलीप्रति पूर्ण समर्पित रहँदै आएको छु।”

 

यता प्रशिक्षक जेससले भने नर्वेविरुद्धको खेलपछि यस विषयमा छलफल गर्ने योजना रहेको जनाएका छन्। नर्वेलाई २-१ ले पराजित गर्दै साविक विजेता पोर्चुगल नेसन्स लिगको अन्तिम आठमा प्रवेश गरिसकेको छ।

 

अल-नासरमा समेत रोनाल्डोलाई प्रशिक्षण दिइसकेका जेससले भने, “यदि उनी चाहन्छन् भने टोलीमा फर्कनेछन्। अर्को पटक खेलाडी छनोट हुनुअघि हामी कुरा गर्न सक्छौँ, तर अन्तिम निर्णय रोनाल्डोकै हुनेछ। उनले आफ्नो राष्ट्रिय टोलीको यात्रा कसरी टुंग्याउने भन्ने फैसला गर्ने अधिकार उनैलाई छ।”

 

यसअघि वेल्सविरुद्ध १-० को जित दर्ता गर्दा रोनाल्डो सुरुवाती टोलीमा थिए। तर, नर्वेविरुद्धको खेलमा दोस्रो हाफमा ‘वार्म-अप’ गर्न लगाएर पनि मैदानमा नउतारिए पछि उनी रुष्ट बनेका थिए। सन् २००८ यता कुनै पनि प्रतिस्पर्धात्मक खेलमा रोनाल्डो बेन्चमा बसेर मैदान नछिरेको यो पहिलो पटक हो।

 

रोनाल्डोको अनुपस्थितिमा सुरुवाती-११ मा परेका एसी मिलानका स्ट्राइकर गोन्कालो रामोसले लगातार तीनवटै खेलमा गोल गरेका छन्। पोर्चुगलका लागि २३४ खेलमा १४६ गोल गरिसकेका रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल र गोलको विश्व कीर्तिमानधारी खेलाडी हुन्।

 

टोलीका सह-खेलाडी जोआओ कान्सेलो र नुनो मेन्डेसले रोनाल्डो टोलीका कप्तान र इतिहासकै उत्कृष्ट खेलाडी भएको भन्दै उनी टोलीमा फर्किए खुला हृदयले स्वागत गर्ने बताएका छन्।

 

पोर्चुगलले आगामी नोभेम्बर १४ मा डेनमार्कको आतिथ्यता गर्नेछ भने त्यसको तीन दिनपछि वेल्सको सामना गर्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖