चितवन । चितवनको कालिका नगरपालिका–५ वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो जिप एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
बुधबार दिउँसो १ः३५ बजे मचौली टोलबाट लंकालाईनतर्फ जाँदै गरेको ना.६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनीघाटबाट बनकट्टातर्फ जाँदै गरेको बा.प्र.३–०१–०२४ च ३४७३ नम्बरको बलेरो जिप ठोक्किएका हुन्।
दुर्घटनामा जिपमा सवार कालिका नगरपालिका–३ की ३५ वर्षीया लक्ष्मी परियारको उपचारका क्रममा दिउँसो २ः३९ बजे पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका लागि लगिएको छ। घाइते हुनेमा सावित्री माझी (५२), उमा श्रेष्ठ (२६), कविता परियार (२५), मैया कुमारी लोप्चन (४३), जुनी सुनार (२२), उमा वाईवा (२०), पवित्रा वि.क. (२०), लाल कुमारी गुम्बा (४२), जिप चालक कोमल बहादुर श्रेष्ठ (३९) र सितामाया श्रेष्ठ (३५) रहेका छन्।
प्रहरीले ट्याक्टर चालक कालिका नगरपालिका–१ का ४२ वर्षीय बिके श्याङ्वोलाई नियन्त्रणमा लिएको छ। जिप चालक श्रेष्ठ पनि घाइते भएकाले अस्पतालमा उपचाररत छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
