मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ धानगोदाममा दुई मोटरसाइकल र ल्याण्ड क्रुजर गाडी आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बुधबार करिब ४:१५ बजे हेटौँडाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.१२ च ४१६४ नम्बरको ल्याण्ड क्रुजरले काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको बा.प्र.०२–०१८ प ०४५९ नम्बरको जाभा मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करपछि सोही दिशाबाट आउँदै गरेको बा.५४ प २५६६ नम्बरको होण्डा मोटरसाइकल अनियन्त्रित भई सडकको बायाँतर्फको नालीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा होण्डा मोटरसाइकल चालक भारत घर भई हाल काठमाडौँ महानगरपालिका–२८ माइतीघरमा बस्दै आएका ३२ वर्षीय मुन्ना आलाम र पछाडि सवार ३१ वर्षीय चुन्नु आलम घाइते भएका छन्। उनीहरूको बाँया हात र खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको छ।
यस्तै, जाभा मोटरसाइकल चालक करिब २५ वर्षीय महेश्वर घिमिरे खत्री गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा चिकित्सकले बुधबार साँझ ४:१० बजे मृत घोषणा गरेका प्रहरीले जनाएको छ। उनको शव हेटौँडा अस्पतालमै राखिएको छ।
दुर्घटनामा संलग्न ल्याण्ड क्रुजर चालक ललितपुरको महालक्ष्मी नगरपालिका–८ का करिब ४२ वर्षीय ईश्वर महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले चालकले मादक पदार्थ सेवन नगरेको जनाएको छ।
दुवै मोटरसाइकल र ल्याण्ड क्रुजर घटनास्थलमै रहेको तथा दुर्घटनाका कारण सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ५०० मिटर पश्चिममा पर्छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
