काठमाडौँ । नागढुंगा सुरुङमार्गभित्र मोटरसाइकल र स्कुटर प्रवेश गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि सुरुङमार्गको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।
सुरक्षाका कारण सुरुङमार्गभित्र मोटरसाइकल, स्कुटर, पैदल यात्री, तीनपाङ्ग्रे सवारीसाधन तथा प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधन प्रवेशमा पूर्ण प्रतिबन्ध छ। तर, सुरक्षा घेरा पार गर्दै दुईपाङ्ग्रे सवारी सुरुङभित्र प्रवेश गरेको घटना सार्वजनिक भएको हो।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका इन्जिनियर सञ्जय पन्थीका अनुसार केही दिनअघि पानी परिरहेको समयमा टोल बुथमा कर्मचारीको उपस्थिति कम भएको मौका छोपेर ती व्यक्तिहरू सुरुङभित्र प्रवेश गरेका थिए। सुरक्षागार्डले रोक्ने प्रयास गरे पनि उनीहरूले जबरजस्ती प्रवेश गरेको पन्थीले बताए।
घटनाबारे कारबाही प्रक्रिया अघि बढाइएको र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सुरुङमार्गको सुरक्षा व्यवस्था थप चुस्त बनाइने आयोजनाले जनाएको छ।
