• Friday 9th of October 2026

पोखरा स्कुल बस दुर्घटना अपडेट : १८ जनाको उद्धार


  • धनकुटा खबर
  • .

पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनाबाट हालसम्म १८ जनाका उद्धार भैसकेको प्रहरीले जनाएको छ । कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानका अनुसार १८ जनालाई उद्धार गरी अस्पताल पठाइएको हो ।

१६ जना अस्पताल पुगिसकेको र २ जना बाटोमै रहेको उनले बताए । पोखरा २८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका लागि विद्यार्थी लिएर आउँदै गरेको स्कुल बस ओख्लेमा दुर्घटनाग्रस्त भएको हो ।

घटनाबारे थाहा पाउने बित्तिकै प्रहरी टोली खटिसकेको छ । अहिले स्थानीय र प्रहरी मिलेर उद्धारको काम भइरहेको पासवानले बताए । घाइते विद्यार्थीहरूलाई तत्काल उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायतका अस्पतालहरूमा पठाइएको छ ।

बसमा कति जना विद्यार्थी सवार थिए भन्ने यकिन विवरण सङ्कलन नभएको उनले सुनाए । ‘विद्यार्थी कति थिए भन्ने यकिन विवरण अझै आएको छैन । हामी फिल्डमै छौँ, अरुको पनि उद्धार भइरहेको छ,’ उनले भने । विद्यार्थीको अवस्थाबारे अहिले नै बोल्न सक्ने अवस्था नरहेको उनले सुनाए ।

‘बस केही तल झरेको छ । विद्यार्थीको अवस्था के छ भनेर हामीले भन्न सक्ने अवस्था छैन,’ अघि भने, ‘चिकित्सकले नै यसबारे प्रष्ट्याउँछन् ।’ दुर्घटनामा परेको बस नराम्ररी क्षतिग्रस्त भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖