• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

‘तपाईं ‘कहिले पाखा लाग्ने’ भन्ने प्रश्नमा ओली आक्रोशित, सञ्चारकर्मीलाई भने– ‘तपाईंको मालिकले निकालिदेला’


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी राजनीतिबाट कहिले पाखा लाग्ने भन्ने सञ्चारकर्मीको प्रश्न सुनेर आक्रोशित भएका छन्।

शनिबार पार्टी बैठकमा सहभागी हुन पुगेका ओलीलाई एक सञ्चारकर्मीले नेपाली कांग्रेसको महाधिवेशनपछि शेरबहादुर देउवा पार्टी नेतृत्वबाट पछि हटेको प्रसङ्ग जोड्दै आफू कहिले पाखा लाग्ने भनेर जनताले सोधिरहेको बताएका थिए।

प्रश्न नसकिँदै ओलीले ‘कुन जनताले सोध्यो ?’ भन्दै प्रतिप्रश्न गरे।

सञ्चारकर्मीले ‘धेरै जनताले भनिरहेका छन्’ भन्दै प्रश्न दोहोर्‍याएपछि ओलीले झर्किंदै भने, ‘नचाहिने कुरा गर्न कसले सिकायो ? तपाईंलाई तपाईंको मालिकले निकालिदेला।’

त्यसपछि अर्का सञ्चारकर्मीले ‘त्यसो भए एमालेमा तपाईंको विकल्प छैन त ?’ भनेर प्रश्न गरेका थिए। उक्त प्रश्नमा पनि ओली रुष्ट देखिए। उनले फेरि ‘अझै नचाहिने कुरा गर्न कसले सिकायो ?’ भन्दै प्रतिक्रिया दिए।

सञ्चारकर्मीले यो जनताको प्रश्न भएको बताउन खोजे पनि ओलीले जवाफ नदिई गाडीतर्फ अघि बढेका थिए।

यसैबीच, सञ्चारकर्मीले एमाले महासचिव शङ्कर पोखरेलसँगको सम्बन्धबारे पनि ओलीलाई प्रश्न गरेका थिए। स्थायी कमिटी बैठकपछि पोखरेलसँग मनमुटाव बढेको र उनले ओलीको फोनसमेत नउठाएको भन्ने चर्चाबारे सोधिएको प्रश्नमा ओलीले त्यसलाई अस्वीकार गरे।

उनले सङ्क्षिप्त प्रतिक्रिया दिँदै भने, ‘त्यसमा कुनै सत्यता छैन, बिल्कुल छैन।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖