• Sunday 1st of November 2026

बारामा प्रहरीको गोली लागेर घाइते किशोरलाई उपचारका लागि काठमाडौं ल्याइयो


  • धनकुटा खबर
  • .

काठमाडौं । बाराको फेटा गाउँपालिकामा प्रहरीको गोली लागेर घाइते भएका किशोर आदित्य पासवानलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

शनिबार नवनिर्मित अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपका क्रममा करिब १६ वर्षीय पासवान घाइते भएका थिए। उनलाई सुरुमा वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो।

नेशनल मेडिकल कलेजले थप उपचारका लागि रिफर गरेपछि सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याइएको बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले बताएका छन्।

नेशनल मेडिकल कलेजका पेडियाट्रिक सर्जन डा. विनोदकुमार रायसहितको चिकित्सकीय टोलीले शल्यक्रिया गरी पासवानको तिघ्रामा लागेको गोली निकालेको थियो।

काठमाडौं ल्याइएका पासवानलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। संघीय सरकारको अनुदानमा निर्माण गरिएको १५ शय्याको आधारभूत अस्पताल उद्घाटन गर्ने विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको थियो।

घटनाको सत्यतथ्य छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रभु ढकालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖