रौतहट । रौतहटको सदरमुकाम गौरमा अज्ञात समूहले गोली प्रहार गर्दा एक युवक गम्भीर घाइते भएका छन्।
मंगलबार राति करिब ९ः१५ बजे गौर नगरपालिका–४ गढवास्थित पानी ट्यांकी नजिक रामविलास यादवका छोरा राकेश कुमार यादवमाथि पाँच राउन्ड गोली प्रहार भएको हो।
गोली लागेर घाइते भएका यादवको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। सिटी स्क्यान गर्दा उनको पिठ्युँमा दुई र हातमा एक गरी तीनवटा गोली लागेको पाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी वसन्त गौतमका अनुसार घाइतेको अवस्था गम्भीर रहे पनि उनी बोल्न सक्ने अवस्थामा छन्।
गोली प्रहार गर्ने व्यक्ति वा समूहको पहिचान हुन सकेको छैन। प्रहरीले घटनास्थलको अनुसन्धान गर्नुका साथै आक्रमणकारीको खोजी गरिरहेको जनाएको छ।
