हैदराबाद । भारतीय अभिनेता तथा आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याण र उनकी पत्नी आना लेज्नेभाले विवाहको १३ वर्षपछि सम्बन्धविच्छेदको घोषणा गरेका छन्।
एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले आपसी समझदारी र सम्मानका साथ छुट्टिने निर्णय गरेको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘हामीले जीवनको महत्त्वपूर्ण समय सँगै बिताएपछि अब आपसी समझदारीमा छुट्टिने निर्णय गरेका छौँ।’
उनीहरूले सम्बन्धविच्छेद भए पनि आफूहरू असल मित्र र आफ्ना सन्तानका जिम्मेवार अभिभावक भई रहने उल्लेख गरेका छन्। उनीहरूले सन्तानको सुख र कल्याण नै सधैँ आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन्। व्यक्तिगत जीवनको यो कठिन मोडमा सबैबाट गोपनीयताको सम्मान र समझदारीको अपेक्षा गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।
रुसी नागरिक आना लेज्नेभा पवन कल्याणकी तेस्री पत्नी हुन्। पवनले यसअघि १९९७ मा नन्दिनीसँग पहिलो विवाह गरेका थिए र उनीहरूको २००८ मा सम्बन्धविच्छेद भयो। त्यसपछि उनले लामो समयकी सहकर्मी रेणु देसाईसँग विवाह गरे र २०१२ मा उनीहरू छुट्टिए।
फिल्म ‘टिन मार’ को सुटिङका क्रममा आनासँग भेट भएपछि उनीहरूले २०१३ मा विवाह गरेका थिए। उनीहरूका दुई सन्तान पोलेना अन्जना पवनोभा र मार्क शङ्कर पवनोभिच छन्।
पवन कल्याणले यसअघि नन्दमुरी बालकृष्णको टक शो ‘अनस्टपबल विथ एनबीके’ मा आफ्ना असफल विवाह र त्यसका कारण भोगेको आलोचनाबारे खुला रूपमा कुरा गरेका थिए। उनले आफ्नो पहिलो विवाह परम्परागत रूपमा ठुलाबडाको सल्लाहमा भएको बताएका थिए। सम्बन्धमा सबै कुरा सोचेजस्तो नहुने भएकाले मानिसहरू छुट्टिने उनले प्रस्ट पारेका थिए।
आफूमाथि बारम्बार तीनवटा विवाहको विषय निकालेर हुने आलोचनाबारे पवनले भनेका छन्, ‘मैले तीनवटै विवाह एकै समयमा गरेको होइन। साथै म ती तीनै जनासँग एकै ठाउँमा बसेको पनि छैन ।’
एक व्यक्तिसँग कुरा नमिलेपछि अर्को विवाह गर्नुपरेको र यो कुनै इच्छा वा मोहका कारण नभई परिस्थितिबस घटेको उनले बताएका थिए। यसमा केवल पीडा मात्र रहेको उनको भनाइ थियो।
राजनीतिमा भएका कारण आफ्नो व्यक्तिगत जीवनलाई सार्वजनिक रूपमा उचालेर आलोचनाको हतियार बनाउने गरिएको उनले बताएका थिए। आलोचकहरूले जसरी आलोचना गरे पनि आफूभित्र कुनै अपराधबोध नरहेको उनले स्पष्ट पारेका थिए।
