मकवानपुर । भीमफेदीमा भएको भीषण सवारी दुर्घटनामा परी ज्यान गुमाउने चालकसहित ११ जनाको पहिचान खुलेको छ।
घटनास्थलबाट उद्धार टोलीले ५ महिला (३ बालिकासहित) र ६ जना पुरुष गरी ११ जनाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार दुर्घटनामा मृत्यु हुने सवारी चालक सर्लाही जिल्लाको कबिलासी गाउँपालिका–८ निवासी ३० वर्षीय रवि शंकर कुमार मण्डल रहेका छन्। अन्य १० जना मृतकहरू सबै सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका बासिन्दा रहेको उनले बताए ।
दुर्घटनामा एकै परिवारका आमा र तीन छोरी तथा अर्को परिवारका श्रीमान्–श्रीमतीकै मृत्यु भएको हो। दुर्घटनामा परी मृत्यु हुनेहरूमा २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव र उनका तीन छोरीहरू क्रमशः १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दिक्षा यादव र ५ वर्षीया दिपिका यादव रहेका छन्।
यस्तै ३६ वर्षीय गुड्डु यादव र उनकी श्रीमती ३२ वर्षीया गायत्री देवि, २६ वर्षीय राम दुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको पनि दुर्घटनामा ज्यान गएको प्रवक्ता काफ्लेले बताए ।
दुर्घटनामा घाइते भएका ६ जनालाई उद्धार गरी सुरुमा हेटौँडा अस्पताल पुर्याइएको प्रवक्ता काफ्लेले बताए । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका अवधेश यादवका १४ महिनाका छोरा सुदीप यादव र मृतक गुड्डु यादवका ३ वर्षीय छोरा सुजन यादवलाई थप उपचारका लागि काठमाडौँस्थित नेपाल मेडिसिटि अस्पताल रिफर गरिएको छ।
त्यसैगरी टाउको र शरीरमा चोट लागेका ३१ वर्षीय देवेन्द्र राय (बेचु) लाई थप उपचारका लागि चितवनको मनकामना अस्पताल भरतपुर पठाइएको छ।
अन्य तीन जना घाइतेहरू ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय बालक सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय भने हेटौँडा अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन्।
