रौतहट । रौतहटमा स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुई जना किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
जिल्लाको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर आज दिउँसो करिब ४ बजे अनियन्त्रित भई पुलमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा यमुनामाई नगरपालिका–५ जमुआ टोल निवासी १८ वर्षीय अनिकेत पासवान र १६ वर्षीय प्रिन्स पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो। तर, चिकित्सकले दिउँसो ४ः३० बजे उनीहरूलाई मृत घोषणा गरेका थिए।
त्यस्तै, दुर्घटनामा यमुनामाई नगरपालिका–५ झुनखुनवा निवासी १५ वर्षीय आकाश पासवान र भारतको सीतामढी जिल्ला भकुरहर ग्राम निवासी १७ वर्षीय सुनिल पासवान घाइते भएका छन्।
घाइते आकाशको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ भने टाउकोमा चोट लागेका सुनिललाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ। दुवै घाइतेको अवस्था मध्यम रहेको बताइएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
