मकवानपुर । हेटौंडा–काठमाडौं जोड्ने त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी खण्डमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
आज बिहान करिब ८:३० बजे हेटौंडाबाट काठमाडौंका लागि छुटेको ना १ ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट राप्ती खोलामा खसेको हो। सुमोमा चालकसहित १० जना सवार रहेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै स्थानीयवासी तथा सुरक्षाकर्मीको टोलीले उद्धार कार्य गरी घाइते र मृतकलाई हेटौंडा अस्पताल पुर्याएको थियो। दुर्घटनामा तीन जनाको मृत्यु भएको र सात जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ।
साँघुरा घुम्ती र जोखिमपूर्ण भौगोलिक बनावटका कारण भीमफेदी सडकखण्ड दुर्घटनाको जोखिमयुक्त क्षेत्र मानिन्छ। यसअघि पनि सोही क्षेत्रमा भएको सवारी दुर्घटनामा १३ जनाले ज्यान गुमाएका थिए। उक्त दुर्घटनाको स्मृति सेलाउन नपाउँदै पुनः सोही क्षेत्रमा अर्को दुर्घटना हुँदा मानवीय क्षति भएको हो।
प्रहरीका अनुसार दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी छ। मृतक तथा घाइतेहरूको पहिचान खुलाउने कार्यसमेत भइरहेको छ।
