काठमाडौं, मंसिर ३ । काठमाडौं उपत्यकालाई केन्द्रबिन्दु बनाएर लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा चार जना ८८ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरले मंसिर १ गते सञ्चालन गरेको विशेष अपरेसनका क्रममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ र ललितपुर महानगरपालिका–१५ बाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का २७ वर्षीय समिर तामाङ, दोलखाको शैलुङ गाउँपालिका–२ का ३० वर्षीय दिनेश वाईबा, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–५ का ३० वर्षीय राज रसाईली र भारतको बिहारस्थित मधुवनी जिल्ला कमलाहरी वडा नं. १२ का २२ वर्षीय कमलेश कुमार साह रहेका छन्।
ब्युरोका अनुसार पक्राउ परेकाहरूको साथबाट ८८ ग्राम खैरो हेरोइन, लागूऔषध तौल गर्न प्रयोग हुने दुई थान डिजिटल तराजु, नगद दुई लाख ८० हजार रुपैयाँ र चार थान मोबाइल बरामद गरिएको छ।
अनुसन्धानका क्रममा पक्राउ परेका राज रसाईली ललितपुरको धापाखेलस्थित जेम्स स्कुलका बस चालक रहेको खुलेको ब्युरोले जनाएको छ।
पक्राउ परेका चारै जनामाथि लागूऔषध कारोबारसम्बन्धी थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
