ढाका । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगले देशलाई अस्थिर बनाउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।
भारतसँग सीमा जोडिएको उत्तर–पश्चिमी जिल्ला लालमोनिरहाटमा बिहीबार आयोजित जनसभालाई सम्बोधन गर्दै उनले अवामी लिगका समर्थकहरूले अशान्ति फैलाउन आगजनी र हत्याको बाटो रोजेको आरोप लगाए। प्रतिबन्धित अवामी लिगले आह्वान गरेको एकदिने देशव्यापी आमहड्तालका क्रममा विभिन्न स्थानमा हिंसा भड्किएपछि प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार हड्तालका क्रममा प्रतिबन्धित अवामी लिग र सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताबीच भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको छ। हिंसाका क्रममा पूर्वमुख्य अन्तरिम सल्लाहकार मोहम्मद युनुसको चट्टग्रामस्थित पैतृक घरमा समेत प्रदर्शनकारीले आगजनी गरेका छन्।
यसअघि बुधबार नडाइलमा विरोध प्रदर्शनबाट फर्कँदै गरेका बीएनपीका दुई नेताको हत्या भएको थियो। उक्त आक्रमणमा प्रतिबन्धित अवामी लिगका कार्यकर्ता संलग्न रहेको प्रहरीको दाबी छ। न्यु एज पत्रिकाका अनुसार बिहीबारसम्म देशका १८ जिल्लामा हिंसा फैलिएको छ।
मंगलबार रातिदेखि विभिन्न स्थानमा तोडफोड, आगजनी र घरेलु बम विस्फोटका घटना भएका छन्। सार्वजनिक बस, प्रहरी कार्यालय, बीएनपी कार्यकर्ताका घर, पार्टी कार्यालय तथा ग्रामीण बैंकका शाखाहरूलाई निशाना बनाइएको छ। बुधबार गोपालगञ्जमा व्यापक हिंसा हुँदा राजमार्गमा सवारीसाधन जलाइएको थियो भने रुख ढालेर आवागमन अवरुद्ध पारिएको थियो।
गोपालगञ्जको काशियानीमा प्रदर्शनकारीले ‘जोय बाङ्ला’ नारा लगाउँदै बीएनपी कार्यालय र ग्रामीण बैंकमा तोडफोड गरेका थिए। प्रहरी चौकीमाथि आक्रमण भएपछि सुरक्षाकर्मीले कार्यालय छाडेका थिए। सोही क्षेत्रमा बीएनपी सांसद डा. केएम बाबरको अस्पताल, निजी निवास तथा उनका आफन्तका घरमा समेत आगजनी गरिएको छ।
राजधानी ढाकामा बिहीबार बिहानै विभिन्न स्थानमा बम विस्फोट भएका थिए। पल्लबी क्षेत्रमा यात्रुवाहक बसमा आगजनी गरिएको थियो भने नारायणगञ्ज, मयमनसिंह र राजशाहीमा पाँचवटा बस र एउटा ट्रक जलाइएको छ। ढाकामा भएका हिंसात्मक घटनामा कम्तीमा चार जना घाइते भएका छन्।
अशान्ति बढेपछि ढाका उच्च अदालतले आगामी डिसेम्बर ३१ सम्म देशभरका सार्वजनिक विश्वविद्यालयका प्रवेश परीक्षा स्थगित गर्न आदेश दिएको छ।
सरकारी समाचार संस्था बीएसएसका अनुसार प्रधानमन्त्री रहमानले जनसभामा सम्बोधन गर्दै देशका जनता जबर्जस्ती बेपत्ता पार्ने, हत्या, आगजनी, आतंकवाद र मतदानको अधिकार खोस्ने राजनीतिमा फर्कन नचाहेको बताए। उनले यस्ता गतिविधिविरुद्ध एकजुट भएर कडा जवाफ दिनुपर्ने धारणा राखे।
भारततर्फ संकेत गर्दै रहमानले अवामी लिग सरकारले देशको हितभन्दा सीमापार रहेका आफ्ना संरक्षकहरूको स्वार्थ पूरा गरेको आरोप लगाए। सत्ताच्युत भएपछि भारतमा शरण लिएको अवामी लिगले पछाडिबाट आक्रमण र आगजनीको राजनीति दोहोर्याएको उनको दाबी थियो।
७९ वर्षीया शेख हसिना सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलनका कारण सत्ता गुमाएपछि भारतमा बस्दै आएकी छन्। उनले आगामी डिसेम्बरमा स्वदेश फर्कन राहदानी माग गरे पनि सरकारले अस्वीकार गरेको समाचारमा उल्लेख छ। त्यसपछि अवामी लिगले हड्ताल घोषणा गरेको थियो।
प्रदर्शनकारीमाथि दमन गरेको अभियोगमा हसिनाविरुद्ध विशेष न्यायाधिकरणले सुनाएको मृत्युदण्डको फैसलाको वार्षिकीका दिन हड्ताल आह्वान गरिएको थियो। हसिनाले भने आफूमाथिका आरोप अस्वीकार गर्दै स्वेच्छाले फर्किएर कानुनी प्रक्रिया सामना गर्ने बताउँदै आएकी छन्। बंगलादेश सरकारले द्विपक्षीय सन्धिअन्तर्गत उनको औपचारिक सुपुर्दगी माग गरिरहेको छ।
हिंसा नियन्त्रणमा लिन सरकारले सातवटा संवेदनशील जिल्लामा करिब तीन हजार अर्धसैनिक बल परिचालन गरेको छ। तोडफोड र अशान्तिमा संलग्न रहेको आरोपमा पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसहित अवामी लिग र यसका भ्रातृ संगठनका कम्तीमा ७१ जनालाई ढाकाबाट नियन्त्रणमा लिइएको छ।
त्यस्तै, ढाकास्थित बैतुल मुकर्रम मस्जिदका पूर्वखतिब मुफ्ती रुहुल अमिनलाई समेत बसुन्धरा आवासीय क्षेत्रबाट पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।
