भारतले समलिङ्गी विवाहलाई मान्यता दिने वा नदिने भन्ने सम्बन्धमा सर्वोच्च अदालतको निर्णयको पर्खाइमा रहेको बेला पन्जाबमा एक ीन्द्यत्त्त जोडीको विवाह चर्चा र विवादमा परेको छ।
बीबीसी हिन्दीका अनुसार पुरुषत्वको प्रयोग गर्ने २७ वर्षीया डिम्पल र २१ वर्षीया मनीषाले भटिण्डामा परिवारको आशीर्वादमा सेप्टेम्बर १८ मा विवाह गरेका हुन्।
भारतमा यस्तो विवाह विरलै हुने गरेको छ तर त्योभन्दा पनि अनौठो कुरा के छ भने यो जोडीले गुरुद्वारामा परम्परागत रीतिरिवाजका साथ विवाह गरेको थियो।
केही धार्मिक नेताहरूले यो विवाहको आलोचना गरेका छन्। जसमा अकाल तख्तका जथेदार ज्ञानी रघवीर सिंह पनि पर्छन्। उनले समलिङ्गी विवाह अप्राकृतिक र सिख धर्मको सिद्धान्तविपरीत भएको घोषणा गरेका छन्।
उनले पवित्र गुरु ग्रन्थ साहिबको उपस्थितिमा दुई महिलाको विवाह गर्नु नैतिक र धार्मिक मूल्यको गम्भीर उल्लंघन भएको बताए। उनले भटिंडा गुरुद्वारा कमिटीलाई विवाह गराइदिने ग्रन्थी हरदेव सिंह र अन्य तीन जनालाई अर्को सूचना नभएसम्म निलम्बन गर्न आग्रह गरेका छन्।
हरदेव सिंहलाई उनको जिम्मेवारीबाट हटाइएको छ। आफ्नो बचाउ गर्दै उनले दुलहा र दुलही दुवै महिला भएको थाहा नभएको दाबी गरेका छन्।
तर, यो दाबीलाई गलत ठहर गर्दै डिम्पलले आफूले गुरुद्वारामा आफ्नो परिचयपत्रको प्रतिलिपि बुझाएको भन्दै कुनै पनि प्रकारको भ्रमको सम्भावना नरहेको बताइन्।
डिम्पल मानसा जिल्लाकी हुन् भने मनीषा भटिण्डाकी हुन्।
डिम्पल जाट सिख हुन् जसलाई कथित उच्च जातको मानिन्छ भने मनीषा दलित हिन्दू हुन्।
पन्जाबको राजधानी चण्डीगढ नजिकैको जिरकपुरमा रहेको कपडा कारखानामा काम गर्ने क्रममा उनीहरु दुवैको भेट भएको थियो।
