काठमाडौ । कतिपय व्यापारीलाई मेडिकल व्यवसायी समेत रहेका ‘भाइरलम्यान’ दुर्गा प्रसाईंको नाम लिएर समेत धम्की आएको पाइएको छ ।
भक्तपुर बस्ने झापाका विवादास्पद मेडिकल व्यवसायी प्रसाईं मंगलबार पक्राउ परेका छन् । झुठा कागज बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको भन्दै उनलाई सीआईबीले नियन्त्रणमा लिएको हो । उनी एक वर्षकै अवधिमा तीनपटक पक्राउ परिसके ।
प्रसाईंमाथि विभिन्न व्यक्ति प्रयोग गरी अरूलाई धम्क्याएर रकम असुली गरी आपराधिक लाभ लिएको कसुरमा समेत अनुसन्धान भइरहेको सीआईबी स्रोतले जनाएको छ ।
‘दुर्गा प्रसाईंको मान्छे हुँ’ भन्दै विभिन्न व्यक्तिले बैंकर र व्यवसायीलाई धम्क्याएर रकम मागेको जाहेरी सीआईबीमा परेको छ । ‘नाम लिएर अरूले धम्काएको हो वा उनी नै संलग्न छन् भन्ने आधारहरू खोज्दैछौँ,’ सीआइबी स्रोतले भन्यो ।
प्रहरीले प्रसाईंको निवास खानतलासी गरेर तीन वटा ल्यापटप र पाँचवटा मोबाइल समेत लगेको छ ।
विद्युतीय अपराध नियन्त्रण ऐन विपरीतको कसुर मुद्दामा अनुसन्धानसँगै धम्काउने व्यक्तिसँगको कनेक्सन खोज्ने प्रहरीको तयारी छ ।
प्रसाईं र लरेन्स विश्वनोईको नाम लिएर धम्की दिइएको भन्दै उजुरी परेको एसपी होविन्द्र बोगटी बताउँछन् । उनले भने, ‘विदेशी नम्बरबाट फोन गरेर धम्की दिइएको भन्दै पहिल्यै उजुरी परेको थियो । अनुसन्धान जारी छ ।’
ग्याङ्स्टार लरेन्स विश्वनोई भने भारतको जेलमा छन् । उनको समूहले डेढ महिनाअघि मात्रै सलमानसँगको सम्बन्धका रहेका महाराष्ट्रका नेता बाबा सिद्दिकीको हत्या गरेको थियो । सिद्दिकीको हत्यापछि अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ ।
अनुसन्धान अधिकृतका अनुसार, नेपालमा दिइएका धम्कीमा पनि उनको संलग्नता भएजस्तो देखिँदैन । उनको नाम लिएर अरू कसैले धम्क्याएको हुनसक्ने भन्दै अनुसन्धान भइरहेको छ ।
