गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ छैटौं सिजनको प्रसारण पुस तेस्रो साताबाट सुरू हुने भएको छ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच यसबारे जानकारी दिइएको हो।
यस पटक सुदूरपश्चिम र पश्चिमाञ्चल क्षेत्रबाट राम्रो संख्यामा प्रतिभाहरू सहभागी भएको भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले बताए।
उनले भने, ‘यो हाम्रो लागि निकै उत्साहजनक हो। नयाँ कोच र प्रतिभाहरूको ट्यूनिङ निकै राम्रो भएको छ।’
डिजिटल अडिसनमा सहभागीमध्येबाट छानिएका १ सय २० बढी प्रतिभाहरू ब्लाइन्ड अडिसनमा सहभागी छन्। ब्लाइन्ड अडिसनबाट छानिएका ६४ प्रतिभाहरू ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन्।
हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले ‘भ्वाइस अफ नेपाल’ ले अहिलेसम्म कम समेटेको लोकसंगीतलाई पनि समेटेर अझै बृहत दर्शकमाझ पुग्न कोशिस गरेको बताए।
यो सिजनमा कोचमा केही हेरफेर गरिएको छ।
यसअघि दुइटा सिजनमा कोच रहिसकेका राजु लामा पुनः कोचमा रूपमा अनुबन्ध भएका छन् भने पाचौं सिजनमा कोच रहिसकेका उदय सोताङ दोहोरिएका छन्।
भ्वाइस किड्सकी कोच मेलिना राई भ्वाइस अफ नेपाल सिजन ६ मा कोच बनेकी छिन् भने लोक गायक खेम सेञ्चुरी पनि कोचका रूपमा अनुबन्धित भएका छन। सेञ्चुरी द भ्वाइस अफ नेपालको कोचमा अनुबन्धित हुने पहिलो लोक स्रष्टा हुन्।
यो शो हिमालय टेलिभिजन र भ्वाइस अफ नेपालको युट्युब च्यानलमा प्रसारणमा आउनेछ। यस सिजनको टाइटल स्पोन्सरमा क्लोजअप रहेको छ।
