काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तेह्रथुम जाँदैछन् ।
उनी सैनिक हेलिकोप्टरमार्फत तेह्रथुम जाने भएका हुन् । उनीसँगै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि तेह्रथुम जाने भएका छन् । प्रचण्ड आज र भोलि दुई दिन तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । प्रचण्डले आज लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उदघाटन गर्नेछन् ।
त्यहाँबाट उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो आठराई जानेछन् ।प्रचण्डले आठराई गाउँपालिका–३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।
प्रचण्डले आजै आठराई–२ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा पार्कको समेत अवलोकन गर्नेछन् ।उनी आज राति आठराई–६ चुहानडाँडा बजारमा बास बस्नेछन् ।
मंगलबार बिहान आठराई–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने प्रचण्डको कार्यतालिका छ । त्यसपछि उनले कन्दङवाको शालीक अनावरण गर्नेछन् । दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा पार्टीको तेह्रथुम जिल्लास्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्कने छन् ।
