काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, प्रेस स्वतन्त्रता र संविधानमाथिको हस्तक्षेपलगायत विषयमा छलफल गर्न विपक्षी दलहरूको बैठक आह्वान गरेको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो।
बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आमन्त्रण गरिएको छ।
बैठकमा सरकारको जवाफदेहिता, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिका, पत्रकार पक्राउ तथा सञ्चारमाध्यममा प्रहरी परिचालनको विषयमा छलफल हुने आङ्देम्बेले बताएका छन्।
त्यस्तै, विभिन्न घटनाका छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र अनुसन्धानलाई निष्पक्ष बनाउनुपर्ने विषय पनि बैठकको एजेन्डामा समेटिएको छ।
