• Monday 5th of October 2026

नेपाली आकाशमा आज एकसाथै ६ ग्रह देखिँदै


  • धनकुटा खबर
  • .

आज सोमबार नेपाली आकाशमा ६ वटा ग्रह नांगो आँखाले नै देख्न सकिनेछ । प्रकाशमा कुनै प्रकारको प्रदूषण नभए सोमबार साँझ नांगो आँखाले ती ग्रहहरूलाई काठमाडौंबाट नियाल्न सकिनेछ ।

कीर्तिपुरस्थित बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका अनुसार चारवटा चम्किला ग्रह (सूर्यको प्रकाशको परिवर्तनले गर्दा) शुक्र, मंगल, बृहस्पति र शनि ग्रह तथा दुईवटा मधुरा ग्रह अरुण र वरुण एकसाथ अवलोकन गर्न सकिनेछ ।

समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माका अनुसार सुरक्षाकर्मी कवाज खेल्न पंक्तिबद्ध भएजस्तै माघ महिनाभरि हाम्रो सौर्यमण्डलका महत्वपूर्ण ग्रहहरू पंक्तिबद्ध भएर आकाशमा नृत्य गरिरहेको स्पष्ट रूपमा देख्न सकिन्छ । उत्तरी गोलार्धबाट प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने यस रोचक घटनालाई नेपालबाट पनि अवलोकन गर्न सकिनेछ ।

‘प्रायः हामीकहाँ दुईवटा प्लानेट बढी देखिन्छ, अरू देशमा प्रविधि प्रयोग गरेर धेरै पनि देखाउँछन्, ग्रहहरू सूर्यवरिपरि घुमिरहन्छन्, तर कुनै वेला एउटा अक्षयको नजिक आउँछन्, अहिले ६ वटा ग्रह एउटै लाइनमा लस्करै देखिन्छ, चारवटा ग्रह खाली आँखाले देख्न सकिनेछ ।

चन्द्रमाका खाल्डा पनि हेर्न सक्नेछौँ,’ उनले भने, ‘टेलिस्कोपबाट ग्रहहरू देखाउँछौँ, यसअघि सूर्यग्रहण पनि देखाएका छौँ, यसबाहेक सौर्य घटना पनि देखाउँछौँ । ग्रहले मानिसलाई के असर पार्न भन्नेबारेको भ्रम हट्नेछ ।’ उनका अनुसार मानिसको भविष्य र जीवनमा कुनै पनि ग्रहले कुनै पनि प्रभाव र असर पार्दैन । उनीहरू घुमिरहन्छन् ।

माघ दोस्रोदेखि चौथो साताको समयमा शनि, शुक्र, बृहस्पति र मंगल ग्रहलाई लामबद्ध भएर एउटै पंक्तिमा आकाशमा नृत्य गरिरहेको प्रतीत हुन्छ ।

कीर्तिपुरस्थित बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले सोमबार साँझ ६ बजेदेखि ८ बजेसम्म टेलिस्कोपको सहायताले विभिन्न ६ ग्रहलाई निःशुल्क देखाउने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖