• Monday 2nd of November 2026

पाथीभरा केबलकार बिबाद: ताप्लेजुङमा यातायात ठप्प, तीन सांसदलाई छलफल गर्न गृहमन्त्रीले बोलाए


  • धनकुटा खबर
  • .

काठमाडौं । पाथीभरा मुक्कुम्लुङ क्षेत्रको केबलकार निर्माण विरोधमा पहिचान पक्षधर र नो केबलकार पक्षधरले गरेको अनिश्चितकालिन यातायात बन्दका कारण ताप्लेजुङमा यातायात ठप्प बनेको छ।

बन्दका कारण मंगलबार बिहानदेखि मेची राजमार्ग र ताप्लेजुङ, पाँचथर, इलाम लगायत तमोर करिडोर र तेह्रथुमका सबै यातायात सेवा ठप्प भएका छन्। सुरक्षा कर्मी र आन्दोलनकर्मीको उपस्थिती विभिन्न स्थानमा देखिएको छ।

केबलकार निर्माण खारेज गर्न, सैन्यकरण फिर्ता गर्न र पक्राउ परेका आन्दोलनकर्मीको बिनासर्त रिहाइको माग गर्दै अनिश्चितकालिन बन्द आह्वान गरिएको हो।आन्दोलनकारीले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले सार्वजनिक माफी माग्नुपर्ने पनि माग गरेका छन्।

शनिबार, पाथीभरा क्षेत्रको बालुडाँडामा प्रहरीको गोली लागेर नो केबलकार समूहका तीन जना गम्भीर घाइते भएका थिए। गोली चलाइएकाले शान्तिपूर्ण प्रदर्शन गर्ने समूहले अनिश्चितकालिन बन्दको आह्वान गर्न बाध्य भएको संघर्षरत पक्षले जनाएको छ ।

यसैबीच विवाद बढ्दै गएपछि गृहमन्त्री लेखकले ताप्लेजुङबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने तीन सांसदलाई छलफलका लागि डाकेका छन् । गृहमन्त्री रमेश लेखकले मंगलबार साँझ ५ बजे यहाँका तीन जना सांसदलाई गृह मन्त्रालय बोलाएका छन् । ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसद योगेश भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेबेलाई मन्त्री लेखकले बोलाएका हुन् ।

भट्टराई नेकपा एमालेका सचिव तथा त्यहाँका प्रत्यक्ष निर्वाचित सांसद हुन भने बोखिम र थेवे समानुपातिक सांसद हुन् । गृहमन्त्री लेखकले ताप्लेजुङका तीन सांसदसहित पाँचथर, इलाम र धनकुटाका सांसदहरुलाई पनि बोलाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖