• Monday 5th of October 2026

रोनाल्डो विश्वकै सबैभन्दा बढी कमाउने खेलाडी, मेस्सी चौथोमा, शीर्ष १०० मा अटाएनन् महिला


  • धनकुटा खबर
  • .

पोर्चुगल तथा साउदी प्रो लिग क्लब अल-नासरका कप्तान क्रिष्टियानो रोनाल्डो सन् २०२४ मा विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् ।

खेलकुद पोर्टल स्पोर्टिकोमा प्रकाशित रिपोर्ट अनुसार, रोनाल्डो फेरि विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीमा पहिलो नम्बरमा रहेका छन् । सन् २०२४ मा रोनाल्डोको आम्दानी २६० मिलियन डलर रहेको छ ।

फुटबल, नेसनल बास्केटबल एसोसिएसन, नेसनल फुटबल लिग, गल्फ र बक्सिङका खेलाडीहरूले सन् २०२३ मा कुल ६.२ अर्ब डलर आम्दानी गरेका थिए । यसमा ४.८ अर्ब पारिश्रमिक र पुरस्कार राशि तथा १.४ अर्ब डलर विज्ञापन र अन्य स्रोतहरूबाट आएको थियो ।

पूर्वयूएस ओपन टेनिस च्याम्पियन कोको गफ गत वर्ष सबैभन्दा धेरै कमाउने महिला खेलाडी थिइन् । उनले ३०.४ मिलियन डलर कमाइन्, जुन मिनेसोटा भाइकिङ्सका क्वार्टरब्याक डेनियल जोन्सको ३७.५ मिलियन आम्दानीभन्दा कम हो । त्यसैले मिनेसोटाले शीर्ष १०० मा स्थान बनाउन सकिनन् ।

अल नासर क्लबसँगको आकर्षक सम्झौताका कारण रोनाल्डोले लगातार दोस्रो वर्ष शीर्ष स्थान हासिल गरे । सन् २०२२ को डिसेम्बरमा साउदी प्रो लिग क्लब अल-नासरमा अनुबन्ध भएपछि रोनाल्डोले महँगो पारिश्रमिक पाएका छन् ।

स्पोर्टिकोका अनुसार, रोनाल्डोले २१५ मिलियन डलर पारिश्रमिक तथा ४५ मिलियन डलर विज्ञापन र अन्य सम्झौताबाट कमाएका छन् । रोनाल्डोपछि धेरै कमाउनेको सूचीमा बास्केटबलका स्टेफन करी रहँदा अर्जेन्टिनी स्टार लियोनल मेस्सी चौथो स्थानमा छन् । स्टेफन करीले १५३.८ मिलियन डलर कमाउँदा तेस्रो स्थानमा रहेका बक्सिङ खेलाडी टाइसन फ्युरीले १४७ मिलियन डलर कमाएका छन् ।

चौथो स्थानमा रहेका इन्टर मियामीका कप्तान मेस्सीले भने १३५ मिलियन डलर कमाएका छन् । मेस्सीपछि पाँचौँ स्थानमा रहेका बास्केटबलका लेब्रोन जेम्सले १३३.२ मिलियन डलर कमाएका छन् ।

शीर्ष १०० मा अटाएनन् महिला खेलाडी

सन् २०२४ को सूची २७ देशका आठ खेलका खेलाडीहरू समावेश गरेर बनाइएको हो । तर, यो सूचीमा महिला खेलाडीहरू भने अटाउन सकेनन् । फोर्ब्सका अनुसार, सन् २०२२ मा ५७.३ मिलियन डलर कमाएर जापानी टेनिस खेलाडी नाओमी ओसाका विश्वकै सबैभन्दा धेरै कमाउने महिला खेलाडी भएकी थिइन् । अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले सन् २०२१ मा ४१.८ मिलियन डलर कमाएकी थिइन्। तर, उनले सन् २०२२ को यूएस ओपनपछि टेनिसबाट सन्न्यास लिएकी थिइन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖