• Sunday 1st of November 2026

एकाएक एमालेसँग नरम बन्दै शेखर कोइराला


  • धनकुटा खबर
  • .

काठमाडौं, ११ फागुन । आठ महिनाअघिसम्म नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको एमालेसँग हार्दिक सम्बन्ध थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकार ढालेर कांग्रेस र एमालेको सरकार बनाउनुपर्ने आवाज उनले उठाउँदै आएको थियो । कोशी प्रदेशमा कांग्रेसबाटै विद्रोह गर्न लगाएर उनले केदार कार्कीलाई एमालेको सहयोगमा मुख्यमन्त्री पनि बनाए । तर जब केदार कार्कीको मुख्यमन्त्री अदालतले खारेज गरिदियो, तब उनी एमालेसँग भड्किन पुगे ।

कतिसम्म भने आफैले प्रस्ताव गरेअनुसार कांग्रेस र एमाले गठबन्धन भई सरकार पनि बन्यो । तर केपी ओलीको नेतृत्वमा सरकार गठन भएदेखि उनले गर्न थालेको सरकारको विरोध अहिलेसम्म रोकिएको छैन । ओली सरकारले गरेका हरेक निर्णयको उनी तत्काल विरोध गरिहाल्थे । सार्वजनिक कार्यक्रममै टीकाटिप्पणी गरिहाल्थे । यो क्रम केही दिनअघिसम्म जारी थियो । तर अहिले शेखर एकाएक एमालेसँग नरम देखिन थालेका छन् ।

कांग्रेसको १५औं महाधिवेशन नजिकिँदै जाँदा शेखरले सरकारको कडा विरोध गर्ने नीतिलाई बदलेका छन् । अहिले उनी कांग्ेसकै मन्त्रीहरू र पार्टी नेतृत्वको विरोधमा बोल्छन् । एक साताअघिसम्म उनले सरकार र राज्य नै एमालेकरण भएको आरोप लगाएका थिए । तर त्यसलाई उनले सुधार गरेका छन् ।

शनिबार आफू निकट नेताहरुको भेलामा कोइरालाले आफ्नो अभिव्यक्तिको आशय पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले एमालेसँग सहकार्य गर्ने, तर बाहिर रहेका अन्य सांसदहरुले खबरदारी गरिरहनुपर्ने भएको भन्दै स्पष्ट पारेका छन्। ‘मैले त्यसरी भन्न खोजेको होइन। हामी एमाले र नेपाली कांग्रेसको सरकार छ। करिव करिव दुई तिहाइको सरकार छ। दुई तिहाइको सरकार चलाउँदा नेपाली कांग्रेस कतै अफट्यारोमा त पर्दैन भन्ने एउटा छ। हाम्रो भोलिको प्रतिस्पर्धी पनि को हो भन्दा एमाले नै हुन्छ,’ उनको भनाइ थियो ।

कोइराला समूहको भेलामा जीवन परियार, मिनेन्द्र रिजाल, सरिता प्रसाईलगायतका नेताहरुको सहभागिता थियो । आफ्नो अभिव्यक्तिले आफ्नै समूहका नेताहरू छिन्नभिन्न भएको चाल पाएपछि शेखर एमालेसँग नरम देखिन थालेको उनी निकट एक नेताले बताए । शेखरले १५औं महाधिवेशनमा फेरि पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यसबेला एमालेको सहयोग आवश्यक पर्ने ठानेर शेखरले आफ्नो अभिव्यक्ति सुधार गर्न थालेको चर्चा छ ।

‘जो साथीहरू मन्त्रिमण्डलमा सरकारमा जानुभएको छ, ती साथीहरूले एमालेसँग सहकार्य गर । हामी जो बाहिर छौँ, सत्ता पक्षमा छौँ । तर बाहिर छौँ। हामी प्रतिस्पर्धी एमाले नै हुन्छ, भोलिको निर्वाचनमा पनि । हामीले खबरदारी गरिरहनुपर्छ यो सरकारलाई ता की सरकारले राम्रो काम मात्रै गरोस्, गलत काम नगरोस् भन्ने हो,’ कोइरालाले भनेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖