काठमाडौ – उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नहुने बताएका छन्। सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
राज्यमन्त्री तामाङले घिसिङले विद्युत प्राधिकरण जस्तो घाटाको संस्थालाई नाफामा लगेको उल्लेख गर्दै उनलाई हटाउन नहुने आफ्नो प्रस्ताव रहेको बताए।
उनले कार्यकारी निर्देशक घिसिङ आगामी साउन २७ गते प्राधिकरणबाट बिदा हुने जानकारी दिँदै देशको आम्दानी बढाउने व्यक्तिलाई हटाउन नहुने बताए।
उनले भने, “उहाँलाई (कुलमान) हटाउन मन्त्रीज्यु साउन/भदाैंबाट लाग्नुभएको हो। स्पष्टीकरण पनि सोधिएको हो। चित्त नबुझेका कुराहरूमा स्पष्टीकरण सोध्न मिल्छ। चित्त बुझ्दो जवाफ आएपछि हटाउन सक्नुभएन। तर घिसिङ जस्ता देशका लागि काम गर्ने व्यक्तिलाई हटाउनु उचित हुँदैन। नागरिकले चाहेको खण्डमा उनलाई फेरि ४ वर्ष काम गर्न दिनुपर्छ।”
राज्यमन्त्री तामाङले घिसिङको कार्यप्रदर्शनलाई सराहना गर्दै उनले विद्युत प्राधिकरणलाई नाफामा लगेको बताए। उनले यस्ता योग्य कर्मचारीहरूलाई संस्थामा राख्नु देशको हितमा हुने बताए।
