• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

तत्काल युद्धविराम नगर्ने रूसको अडानले राष्ट्रपति ट्रम्पलाई धक्का


  • धनकुटा खबर
  • .

रूसले युक्रेनमा तत्काल छोटो समयको युद्धविराम नचाहने स्पष्ट पारेको छ।

राष्ट्रपति पुटिनका उच्च सहयोगी युरी उशाकोभले रसियन टेलिभिजनलाई अन्तर्वार्ता दिँदै रूसले आफ्नो स्वार्थ र चिन्तालाई ध्यानमा राख्दै दीर्घकालीन शान्ति सम्झौताका लागि जोड दिने बताए।

युक्रेन र अमेरिकाबीच भएको वार्तामा प्रस्तावित ३० दिने युद्धविरामलाई रूसले युक्रेनी सेनाको लागि ‘अस्थायी सास फेर्ने अवसर’ मात्र भनेर टिप्पणी गरेको छ।

उशाकोभले भने, ‘अहिलेको समयमा शान्तिको नक्कल गर्ने कदम कसैलाई पनि चाहिँदैन।’

अमेरिकाले आफ्नो अडान बुझ्ने र त्यसलाई ध्यानमा राखेर अगाडि बढ्ने विश्वास लिएको पनि उशाकोभले बताए।

मस्कोमा हुने लागेको अमेरिका-रूसका उच्च अधिकारीहरूबीच वार्ताको पूर्वसन्ध्यामा पुटिनको कडा अडान सार्वजनिक भएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका लागि विशेष दूत स्टिभ विट्कोफ अहिले मस्को पुगेका छन्।

रूसको यो अडानले दुई मुलुकबीच तत्काल युद्धविराम गराउने राष्ट्रपति ट्रम्पको चाहनामा धक्का पुग्ने देखिएको छ। ट्रम्पले रूस र युक्रेनबीच तत्काल युद्धविराम गराउन चाहेका छन्। रूस आफ्नो अडानमा कायम रहेकोमा ट्रम्पले के कदम चाल्छन् स्पष्ट छैन।

रूसले युक्रेनलाई आफ्नो प्रभाव क्षेत्रमा राख्न र जर्मनीको पूर्वमा नाटोको उपस्थितिलाई सीमित गर्न चाहेको छ। अमेरिका र रूस भविष्यमा हुने सम्पर्कहरू गोप्य राख्न सहमत भएको पनि रूसी अधिकारीहरूले बताएका छन्।

पुटिनले युद्धविरामको पूर्वशर्तको रूपमा युक्रेनले रूसले आंशिक रूपमा कब्जा गरेको दक्षिण-पूर्वी क्षेत्रहरू र क्रिमियन प्रायद्वीपलाई मान्यता दिनुपर्ने, यी क्षेत्रहरूबाट आफ्ना सेना फिर्ता गर्नुपर्ने र कहिल्यै नाटोमा सामेल नहुने प्रतिज्ञा गर्नुपर्ने माग गरेका छन्।

रूसले युक्रेनी सेनामा सीमा तोक्न, देशभरिका रूसी भाषीहरूको संरक्षण गर्न र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको स्थानमा नयाँ निर्वाचन गर्न दबाब पनि दिइरहेको छ।

रूसले शीतयुद्धपछि नाटोको पूर्ववर्ती विस्तारलाई फिर्ता लिन माग गरेको छ। यस्तो विस्तारले २०२२ मा युक्रेनमा आक्रमणको आदेश दिन आफू बाध्य भएको पुटिनले दाबी गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖