काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मंगलबार दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यु) यथावत् रहेको छ ।
जिल्ला प्रशासन कार्यालय, बाँकेले जारी गरेको विज्ञप्ति अनुसार निषेधाज्ञाका क्रममा भएको झडपमा पाँच सुरक्षाकर्मी र १७ सर्वसाधरणसहित २२ जना घाइते भएका तथा उनीहरूमध्ये २१ जना उपचारपछि घर फर्केका र एकजनाको भेरी अस्पतालमा उपचार भइरहेको उल्लेख छ ।
स्थानीय प्रशासनले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच झडप भएको भन्दै नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै किसिमको सामग्री प्रचारप्रसार नगर्न/नगराउन अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सद्भावको सहरका रूपमा रहेको नेपालगञ्जको गरिमालाई कायम राख्न राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, आम नागरिकले आफ्ना क्षेत्रबाट शान्ति स्थापनामा योगदान पुर्याउनसमेत आग्रह गरेको छ ।
