• Sunday 4th of October 2026

एक महिना भित्र फेसबुक, एक्सलाई सूचीकरण हुन मन्त्रालयको आदेश, नभए नेपालमा प्रतिबन्ध लगाउने चेतावनी


  • धनकुटा खबर
  • .

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मेटा, एक्सलगायतलाई एक महिनाभित्र सूचीकरण हुन भनेको छ।

हालसम्म ३ वटा कम्पनी मात्रै सूचीकरण भएको उल्लेख गर्दै मन्त्रालयले ती कम्पनीलाई १ महिनाभित्र नेपालमा सूचीकरण हुन सूचना जारी गरेको हो।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि आफैँ वा आफ्नो प्रतिनिधिमार्फत सूचीकरण हुनुपर्ने उल्लेख छ।

सूचीकरण हुने कम्पनीले कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियम परिपालनको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने हुन्छ।

निर्देशिकाअनुसार हालसम्म भाइबर, टिकटक र सारांश मिडिया ल्याब प्रालि सूचीकरण भई सञ्चालनमा छन्।

‘नेपालभित्र सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गरेका उल्लिखितबाहेक अन्य सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्मले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम ३० दिनभित्र यस मन्त्रालयमा सूचीकरण गर्नुहुन तथा नेपालभित्र सम्पर्क विन्दु आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियम परिपालनको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्नुहुन यसै सूचनामार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ’, मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

तोकिएको समयभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिकाको दफा ३ को उपदफा ७ बमोजिम मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने चेतावनी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖