• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

भाडा नतिरी भागेका मान्छेले जलाए तीनकुनेको घर, दुर्गा प्रसाईंका मान्छे भएको पुष्टि


  • धनकुटा खबर
  • .

काठमाडौँ – भाडा नतिरी भागेका मान्छेले तीनकुनेको सिसाको घर जलाएको पाइएको छ । साउन–भदौतिर तीनकुनेस्थित सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेको भवनको पहिलो तला भाडामा लिएर भाडा नतिरी भाग्ने घर जलाएको पाइएको हो ।

भरखरै भेटेरीनरी अस्पताल सरेर खाली भएकाले फ्ल्याट भाडामा दिन सकिनेमा सहकारीका सञ्चालक प्रेमबहादुर श्रेष्ठ पुगेका थिए । यद्यपि, सहकारी संस्थाको भवन भएकाले केही प्रक्रिया पूरा गर्नुपर्ने बताए। उनले अघि सारेका सबै सर्त र प्रक्रिया पूरा गर्न उनीहरू तयार भए । भाडामा कुरा मिल्यो २३ हजार ५ सय। त्यसपछि तालाचाबी जिम्मा दिए। नेपाल अडिटर एसोसिएसनका महासचिवसमेत रहेका श्रेष्ठको कार्यालय पनि सोही भवनको चौथो तलामा छ।आफ्नै सहकारीको भवनको फ्ल्याट खाली राख्न नहुने विचारले सो निर्णयमा पुगेको उनी बताउँछन्।

तर, सबै सर्त मान्न तयार भएका युवाहरूले कुनै कागजात ल्याएनन्। उनले पटकपटक ल्याउन आग्रह गरिरहे। केही सीप नचलेपछि ७ दिनको अल्टिमेटम दिए। त्यसपछि ती युवाहरू देखिएनन्, फ्ल्याट नै छोडेर भागिसकेपछि मात्र श्रेष्ठले चाल पाए। भाडा नतिरी जुन घरको फ्ल्याटबाट मानिस भागेका थिए, त्यसैमा चैत १५ गते राजावादीहरूले लगाइदिएको आगोले चारतले सो भवन सबै सखाप भएको छ।

आगोको मुस्लोले भएभरका सामान खरानी बनेको घरभित्र केही कुरा सग्लो छैन। श्रेष्ठ अहिले दैनिक गएर भवन हेर्छन्, केही तस्बिर खिच्छन् अनि निराश बनेर फर्कन्छन्। अराजक भीडले सोही घरलाई किन निसाना बनाएको होला, उनी ठम्याउन सकिरहेका छैनन्। अनेकथरीका भिडिओ फुटेज उनले हेरिसके। थरीथरीका तर्क सुनिसके। तर, वास्तविकता पत्ता लागेको छैन।

सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बोर्ड भएकोले सोही घर प्रदर्शनकारीको तारो बनेको हुन सक्ने उनी अड्कल काट्छन्।तर, त्योभन्दा पनि उनलाई केही महिनाअगाडि सो भवनको एउटा फ्ल्याट भाडामा लिएर बसेका मानिसहरूको याद आइरहेको छ। उनी शंकाको सुई त्यता पनि तेर्स्याउँछन्। ती मान्छे दुर्गा प्रसाईंकै भएको उनको भनाइ छ।

‘जुन कोठाबाट आगो लगाइएको भनिएको छ, ७÷८ महिनाअघि दुर्गा प्रसाईंका मान्छेले भाडामा लिएका थिए। ६० दिन अनसन बस्यौँ, अहिले दुर्गा प्रसाईंसँग सम्बन्ध छैन भन्ने कुरा गर्थे। दुर्गा प्रसाईं फटाहा रहेछ भन्दै छुट्टिएको बताउँथे,’ श्रेष्ठले मंगलबार भने, ‘झन् भाडा पनि घटाएर दिएँ। पछि त एक महिनाको भाडा नतिरी उनीहरू भागे।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖