• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

ऋषि धमलाको नाम पनि ३५ दिने सूचनामा, कति छ तिर्न बाँकी ?


  • धनकुटा खबर
  • .

काठमाडौँ – पत्रकार ऋषि धमलाको रिपोर्टर्स क्लबका नाममा पनि ३५ दिने सूचना जारी भएको छ । सरकारलाई तिर्नुपर्ने घरबहाद नतिरेपछि ३५ दिनभित्र भुक्तानी गर्न समाज कल्याण परिषद्ले ताकेता गर्दै ३५ दिने सूचना निकालेको हो ।

परिषदको भृकुटीमण्डप व्यवस्थापन विभागले स्टल, बुथ, भवन प्रयोग गरेका विभिन्न व्यक्ति, संस्था तथा मन्त्रालयलाई आफ्नो बक्यौता रकम तत्काल तिर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ । तीमध्ये ऋषि धमलाको रिपोर्टर्स क्लबको बक्यौता रकम ४६ लाख ५८ हजार ६४९ रुपैयाँ भएको हिजो प्रकाशित सूचनाको १० नम्बरमा उल्लेख छ । कम्तीमा दुई हजार ४९६ देखि बढीमा एक करोड ४६ लाख ५९९ रुपैयाँ ८० पैसा बक्यौता देखिन्छ । सबैभन्दा धेरै तिर्नुपर्ने रकम काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको नाममा उल्लेख छ ।

बक्यौता रकम नबुझाएका संघ संस्थाहरुमा नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघ, उपभोक्ता मञ्च नेपाल, नेपाल पर्यटन बोर्ड, नेपाल पत्रकार महासंघ, नेपाल फोटो पत्रकार महासंघ, राष्ट्रिय अपाङ्ग महासंघ, गणेशमानसिंह अध्ययन प्रतिष्ठानसम्म छन् । नेपाल मोबाइल व्यवसायी संघ, ह्याप्पी डिल, राईज ग्लोबल, लेदर विङ्गस प्रालि, कराते संघ, सिर्जना आर्ट ग्यालरी, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, नेपाल साना पसल श्रमिक संघ, ग्रामीण महिला तथा बालबालिका, नेपाल प्यारा ओलम्पिक कमिटी, केन्द्रिय उपभोक्ता समिति, नेपाल नेत्रहिन संघ, नेपाल अपाङ्ग समाज ब।उ। संस्था लिमिटेड, पिसी सिटी नेटवर्क, डाईरेक्सन नेपालले पनि बक्यौता नबुझाएको विभागले जनाएको छ ।

रकम नतिर्नेमा कृष्णबहादुर गुरुङ्ग, रोहित बस्नेत, विश्वबहादुर जोशी, सनदकुमार श्रेष्ठ, रेश्मा तुलाधर, रुपरत्न तुलाधर, लक्ष्मण श्रेष्ठ, लब्जीबहादुर कार्की, डिलु राना, राजेन्द्र खड्कालगायत छन् । तोकिएको अवधिमा बक्यौता रकम हिसाब मिलान नगरेमा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने विभागको चेतावनी छ । उनीहरुले यसअघि गरिएको पटकपटकको पत्राचार, निर्देशन एवम् प्रकाशित सूचनाको अटेर गरेको बताइन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖