• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

मध्यरातमा भारतबाट बिरामी लिएर भट्टेडाँडा आइपुगेको एम्बुलेन्समा ट्रामाडोल


  • धनकुटा खबर
  • .

काठमाडौँ । ललितपुरको भट्टेडाँडा चेकप्वाइन्टमा खटिएका प्रहरीले शनिबार बिहान पौने २ बजेतिर एउटा एम्बुलेन्सलाई रोके । चेकजाँच गर्न खोजेपछि एम्बुलेन्स चालक २२ वर्षीय मोहम्मद उमर सिद्दिकी स्टेरिङ छाडेर दौडिए । सिद्दिकी भारतीय नागरिक हुन् ।

भारतीय नम्बर प्लेटको एम्बुलेन्स भारतबाट नै आएको थियो । चालक भागेपछि प्रहरीले त्यसमा अवैध सामान ल्याएको शङ्का लागेपछि चेकजाँच गरे । चेकजाँच गर्दा बिआर–०५ पिए–०४२१ नम्बरको एम्बुलेन्समा ९४ हजार ८० ट्याब्लेट लागुऔषध ट्रामाडोल फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र एसएसपी अधिकारीले पत्रकार सम्मेलन गरेर विवरण सार्वजनिक गरेका छन् । एम्बुलेन्समा बिरामी पनि थिए । बिहारस्थित रक्सौलबाट ४५ वर्षीया नोर्जान खातुन उपचार गराउन नेपाल आउँदै थिइन् । साथमा दुई जना बच्चा पनि छन् । कागजात परीक्षण गर्दा नोर्जान उपचार गराउन नेपाल आएको खुलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरी रेग्मीले जानकारी दिए । उनले भने– ‘बिरामीलाई कभरको रूपमा प्रयोग गरेर एम्बुलेन्स धनीले लागुऔषध कारोबार गरेको देखिन्छ ।’

एम्बुलेन्सका मालिक भारत मोतिहारीका ३३ वर्षीय मोहम्मद मुन्ना अन्सारी, मोतिहारी घर भएका २० वर्षीय समिर आलम र चालक २२ वर्षीय मोहम्मद उमर सिद्दिकी लाई प्रहरीले सार्वजनिक गरेको छ । चेक प्वाइन्टबाट भागेका चालक सिद्दिकीलाई शनिबार बिहान साढे ६ बजेतिर कान्ति लोकपथको छपेलीबाट पक्राउ गरिएको एसएसपी अधिकारीले बताए । उनले भने, ‘चेकजाँच गर्न खोज्दा भागेका चालकलाई पछि हामीले पक्राउ गर्न सफल भयौँ ।’

लागुऔषध कारोबारमा भरिया मात्र पक्राउ पर्ने तर, मुख्य आरोपी उम्कने विगतभन्दा ललितपुरको घटना फरक रहेको एसपी रेग्मीले बताए । उनले भने– ‘अहिले एम्बुलेन्सको धनी र लागुऔषध कारोबारमा संलग्न मुख्य व्यक्ति मोहम्मद मुन्ना अन्सारीलाई नियन्त्रणमा लिन हामी सफल भएका छौँ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖