• Monday 5th of October 2026

के अमेरिका बस्दै आएकी अभिनेत्री अरुणिमाको दोस्रो विवाह पनि धरापमा परेकै हो ?


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिका बस्दै आएकी अभिनेत्री अरुणिमा लम्साल हालै नेपाल आएकी छिन् । केही दिनको नेपाल बसाइमा उनी आफूले अभिनय गरेको वेव सिरिज ‘घर बट इन अमेरिका’ को प्रमोसनमा व्यस्त रहने जनाइएको छ ।

तीन महिना अगाडि मात्रै नेपाली सिने नगरीमा अरुणिमाको वैवाहिक सम्बन्धका विषयमा नराम्रो हल्ला चलेको थियो । उनले आफ्नो सामाजिक सञ्जालबाट आफ्नो विवाह र श्रीमानसँगका सबै तस्बिरहरू हटाइदिएपछि मिडियाहरूमा समेत गसिप बनेको थियो । त्यसलाई लिएर अरुणिमाले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएकी छैनन् । नत उनका श्रीमान् युवराज श्रेष्ठले नै मुख खोलेका छन् ।

अरुणिमा र युवराजले लगनगाँठो कसेको ८ महिना पनि भएको छैन । उनीहरुले गत भदौ ३२ गते काठमाडौंकै राम मन्दिरमा विवाह बन्धनमा बाँधिएका थिए । विवाहको केही दिनमै अरुणिमा अमेरिका फर्किइन् । युवराज नेपालमै छन् । उनीहरुले विवाहपछि केही दिन मात्रै सँगै बिताएका थिए । यहीबीचमा उनीहरुको सम्बन्ध बिग्रेको हल्ला चलेको हो ।

अरुणिमा अमेरिकामा रहेकाले उनीसामु गएर माइक तेस्र्याउन अवसर त्यसबेला युट्यूवरहरुलाई मिलेन । अहिले उनी नेपाल आएपछि सबै अन्तरवार्तामा नछुट्ने प्रश्न नै यही हुनेवाला छ– के श्रीमानसँग डिभोर्स हुन लागेको हो र?

अरुणिमाको एउटा अन्तरवार्ता सार्वजनिक पनि भइसकेको छ । सुत्र नाम च्यानललाई दिएको अन्तरवार्तामा उनले गरेको सङ्केत सुखद छैन । अन्तरवार्ताकारले बारम्बार श्रीमानसँगको सम्बन्धबारे प्रश्न सोध्दा उनले खुलेर जवाफ दिन सकिनन् । उनको जवाफहरूमा सम्बन्धमा दरार आएको स्पष्ट सङ्केत मिल्छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖