विराटनगर । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका दुवैको पहिचान खुलेको छ ।
प्रहरी स्रोतका अनुसार घाइतेमा देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता र पिन्टु मेहता छन् ।
सोमबार साँझ मोटरसाइकलमा यात्रा गरिरहेका बेला शिवकुमार र पिन्टुमाथि देवानगन्ज बजारमा गोली प्रहार भएको हो ।
देवानगन्ज–७ कै कामेश्वर नाम गरेका व्यक्तिले गोली हानेको प्रहरीले स्रोतले जनाएको छ । गोली प्रहारपछि उनी फरार भएका छन् । गोली प्रहारको कारण खुलेको छैन । शिवकुमारको ढाडदेखि तल दायाँतर्फ र बायाँ कम्मरको भागमा गोली लागेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार घटनामा तीन जना घाइते भएका छन् । दुई जनालाई गोली लागेको हो भने एकजना लडेर घाइते भएका हुन् । घटनाको अनुसन्धान भइरहेको उनले बताए ।
देवानगञ्ज सुनसरीस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्छ । जिल्ला प्रशासन कार्यायल सुनसरीका प्रमुख धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा सुरक्षाकर्मीको टोली घटनास्थल गइरहेको छ ।
