क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्क र उनको विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला विरुद्ध मुद्दा लडिरहेका कम्पनीकै एक ‘ह्विसलब्लोअर’ले मुद्दा जितेकी छिन् । कारको ब्रेकिङसम्बन्धी त्रुटिबारे सुरक्षा चिन्ता व्यक्त गरेपछि २०१४ मा इन्जिनियर क्रिष्टिना बालनले आफ्नो जागिर गुमाएकी थिइन् ।
एक जना न्यायाधीशले उनको मुद्दालाई खारेज गर्दै मध्यस्थता गरेर मामिला सल्टाउन आदेश दिएपछि कम्पनीले आफ्नो मान मर्दन गरेको भन्दै उनले हालेको मुद्दा पाखा लागेको थियो ।
तर क्यालिफोर्निया पुनरावेदन अदालतका न्यायाधीशहरूको एउटा प्यानलले उक्त निर्णय उल्ट्याएर बालनको पक्षमा फैसला सुनाएका छन् । अब आफूले मस्क र टेस्लाको सामना खुला अदालतमा गर्न चाहेको उनले बताइन् । यस मामिलाबारे बीबीसीले सोधेको प्रश्नमा टेस्लाले कुनै प्रतिक्रिया दिएको छैन ।
अब यस मामिलामा नयाँ सुनवाइ सुरु हुने आशा आफूले गरेको उनले बताएकी छिन् । बालन कुनै समय टेस्लाकी मुख्य इन्जिनियर थिइन् । उनको हस्ताक्षरलाई मोडल एसको ब्याट्रीमा कुँदेर समेत राखिएको छ ।
