• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

अझै केही दिन पानी पर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंसहित देशका धेरै स्थानमा बिहीबार (वैशाख ४) वर्षा भएको छ । हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही स्थानमा भारी वर्षाको समेत पूर्वानुमान छ ।
देशका कतिपय स्थानमा वर्षा जारी रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । वर्षा तत्काल ठप्प हुने अवस्था नरहेको उनले बताइन् ।

“आज र भोलि यस्तै हुने अवस्था छ । बिहानीपख खुल्ने, दिउँसो/साँझपख वर्षा हुने,” उनले बाह्रखरीसित भनिन्, “पानी पर्ने रोकिने, पर्ने रोकिने हुने सम्भावना छ ।”

बिहीबार र शुक्रबार धेरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यी दुई दिनको तुलनामा शनिबार (वैशाख ६) वर्षाको सम्भावना केही कम रहेको उनले बताइन् । “शनिबार केही कम पानी पर्ने सम्भावना छ, तर पानी नै नपर्ने भन्ने होइन,” उनले भनिन्, “शनिबार साँझ हल्का वर्षा हुनसक्छ ।”
त्यसपछि पनि वर्षा हुँदैन भन्न नसकिने उनले बताइन् । “त्यसपछि पनि वर्षा हुनसक्छ, तर अहिले हेरेर ठ्याक्कै यही नै हुन्छ भनेर अनुमान गर्न कठिन हुन्छ,” उनले भनिन्, “धेरैपछिको अनुमान मिल्ने सम्भावना कम हुन्छ ।”

उनका अनुसार, हाल देशमा पानी पार्ने विभिन्न प्रणालीको प्रभाव छ । “स्थानीय वायुको पनि प्रभाव छ । पश्चिमी वायुको पनि प्रभाव छ,” उनले भनिन्, “विशेष गरी भारतको उत्तर प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव छ । बंगालको खाडीबाट पनि जलवाष्पयुक्त हावा आइरहेको छ ।”

पाकिस्तानमा पनि हाल ठूलो वर्षा भएको छ । त्यहाँ पश्चिमी न्यूनचापीय क्षेत्रको प्रभाव छ ।

देशमा तत्काल सुक्खा हुने सम्भावना नदेखिएको उनले स्पष्ट पारिन् । “सुक्खा नै हुने स्थिति देखिएको छैन,” उनले भनिन्, “प्रिमनसुनमा केहीअघि सुक्खाजस्तो थियो, अब पानी पर्ने क्रम बढेको छ ।”

वैशाख ८ गते घाम लाग्छ : विज्ञ उप्रेती
जलवायुविज्ञ धर्मराज उप्रेतीले भने शुक्रबार (वैशाख ५) वर्षाको क्रम अझ विस्तार हुने बताए । हालको वर्षा अस्वाभाविक नभएको उनले जानकारी दिए ।

“अस्वाभाविक होइन, स्वाभाविक नै हो,” उनले भने, “भोलि (शुक्रबार) र पर्सि (शनिबार) वर्षाको क्रम अझ विस्तार हुन्छ । आजजस्तै वा योभन्दा केही बढी वर्षा हुनसक्छ । अहिलेको प्रणाली देशभर फैलिइसकेको छ ।”

पूर्वको तुलनामा गण्डकी प्रदेशदेखि पश्चिम क्षेत्रमा वर्षाको सम्भावना बढी रहेको उनले बताए । पश्चिमी वायु सक्रिय भएर पानी परेको उनको भनाइ छ ।

पश्चिमी वायु भूमध्यसागरबाट आउँछ । यति बेला अरबसागरबाट पनि जलवाष्पयुक्त हावा नेपाल भित्रिएको छ । बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावा भित्रिएको विज्ञ उप्रेतीले बताए ।

“अफगानिस्तान, पाकिस्तान, जम्मु–कश्मीर, पञ्जाब, उत्तराखण्ड हुँदै पानी पार्ने प्रणाली भित्रिएको छ,” उनले भने, “यसकै प्रभावले पाकिस्तानमा पनि ठूलो वर्षा भएको छ ।”

उनका अनुसार, तत्कालका निम्ति आइतबार (वैशाख ७)सम्म देशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । सोमबार घाम लाग्ने उनले बताए । “वैशाख ७ गतेसम्म पानी पर्ने देखिन्छ,” उनले भने, “वैशाख ८ गते घाम लाग्छ ।”

यो अवधिमा हावाहुरी, असिना, चट्याङ, पर्वतीय क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖