• Thursday 29th of October 2026

कांग्रेस महामन्त्री थापाविरुद्ध सर्वोच्चमा ‘अदालतको अवहेलना’ मुद्दा दर्ता


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अबहेलना मुद्दा दर्ता भएको छ । संवैधानिक निकायमा ५२ जनाको नियुक्तिविरुद्धको रिटको बारेमा गगनले अदालतको भूमिकामाथि उठाएको प्रश्नलाई लिएर रिट दर्ता गरिएको हो ।

अधिवक्ताहरू अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले दायर गरेको अवहेलना मुद्दा आज दर्ता भएको हो । उक्त मुद्दाको प्रारम्भिक सुनुवाइका लागि आगामी मंगलबार पेशी तोकिएको छ । महामन्त्री थापाले अध्यादेशमार्फत् संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतले ‘तँलाई हान्दिऊ’ भन्दै डील गरिरहेको टिप्पणी गरेका थिए ।

लोकतन्त्र दिवसको सन्दर्भमा आयोजित आजको ‘आजको लोकतन्त्र, अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए ,‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयलाई अढाइ, तीन वर्षदेखि तलाईँ हान्दिऊँ, हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भयाइनभ्याइ भन्छ । कहिले भोलि हेर्ने भन्छ, पर्सी हेर्ने भन्छ । त्यसले अदालतप्रतिको विश्वसनीयतामाथि प्रश्न गराउँछ । एउटा संवैधानिक नियुक्ति भएको विषय, त्यो आयोगले गरेका काम, त्यसमा नियुक्ति भएका मानिसहरुको कार्यकाल सकिन लागिसक्यो । त्यो ठीक थियो कि बेठीक थियो भनेर परीक्षण गर्ने कुरा नेपालको सम्मानित अदालतको लागि चाहीँ चार वर्ष/साँढे चार वर्ष समय लाग्छ ? त्यो पनि आइतबार हेरौं, शुक्रबारसम्म, भ्याइनभ्याइ, हेर्दाहेर्दै भनेर जसरी यो विषयलाई अदालतले डिल गर्यो, त्यो अदालतप्रतिको विश्वसनीयता के रहन्छ ?’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत संवैधानिक निकायमा ५२ जना नियुक्त गरेका थिए । सो नियुक्तिविरुद्ध २०७७ मङ्सिर १ गते सर्वोच्चमा रिट दर्ता भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖