• Thursday 29th of October 2026

सरकारको नीति तथा कार्यक्रम टोले गुण्डाहरुले आफ्नो क्षेत्र निर्धारण गर्नका लागि बनाएको सम्झौताको खोस्टोजस्तो छः ज्ञानबहादुर शाही


  • धनकुटा खबर
  • .

काठमाडौं, २० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम उद्देश्यविहीन रहेको टिप्पणी गरेका छन् । सरकारको नीति तथा कार्यक्रम–२०८२ को बारेमा रिपोर्टर्स क्लब नेपालले दलका नेताहरुसँग राखेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता शाहीले सरकारको नीति तथा कार्यक्रम केपी शर्मा ओलीको ‘पानी जहाज’ जस्तै अस्पष्ट रहेको बताएका हुन् ।

‘अहिलेको नीति तथा कार्यक्रम केपी शर्मा ओलीको पानी जहाज हो । पानी जहाज, रेल, हावाबाट विजुली, घर–घरमा ग्यासको पाइपजस्तै नीति तथा कार्यक्रम हिजो आयो । हामीले त्यसलाई स्पष्ट भनिसक्यौं– पुरानो ढर्राको, च्यातिएको कागजजस्तो, टोले गुण्डाहरुले आफ्नो क्षेत्र निर्धारण गर्नका लागि बनाएको सम्झौताको खोस्टोजस्तो,’– उनले भने ।

अहिलेको नीति तथा कार्यक्रमले सरकारको गलत कामको विरोध गर्नसमेत नपाइने भनेको उनले बताए । सरकारमा रहेका दलहरुले नीति तथा कार्यक्रममा देशको आर्थिक नीतिको बारेमा कुरा नगरेर राजनीतिक भाषा प्रयोग गरेको उनको आरोप छ । नेता शाहीले युवालाई रोजगारी दिने भनिए पनि के आधारमा उनीहरुलाई रोजगारीको व्यवस्था गरिने भन्ने प्रष्टता नरहेको बताए ।

विराटनगर जुटमिल, चिनी मिललगायत युवाहरुलाई रोजगारी दिने उद्योगहरु बन्द गराएर कसरी रोजगारी दिने भन्ने आफूहरुले बुझ्न नसकेको उनले बताए । अहिले आएको नीति तथा कार्यक्रमले यो व्यवस्था नै खराब छ भन्ने कुरा पुष्टि गर्ने उनको दाबी छ ।

‘अहिलेको नीति तथा कार्यक्रममा उठाउनुपर्ने कुरा,, यसमा बहस गर्नुपर्ने कुरा केही पनि छैन । यो व्यवस्थाले जनताको जनप्रतिनिधिलाई कमजोर बनाएको छ । केपी ओली बडा बाठा रहेछन् मान्छे । प्रत्येक ठाउँमा राजनीतिक मुद्दा छन्, राष्ट्रपतिलाई बोल्न लगाइदिए,’– उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖