काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फिफा विश्वकप–२०२६ को प्रारम्भिक छनोट चरणअन्तर्गत नेपाल र लाओसबीचको खेलको टिकट दर निर्धारण गरेको छ ।
आज शुक्रवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै एन्फाले दुई देशबीचको खेलका लागि साधारण पारापिटतर्फ ३ सय र भीआईपी पारापिटतर्फ ५ सय रुपैयाँ कायम गरिएको जनाएको हो । खेलको टिकट एन्फाले आफैँले व्यवस्थापन गरी बिक्री गर्ने बताइएको छ ।
खेलका लागि लाओस अक्टाेबर ९ मा नेपाल आउने र प्रशिक्षणका लागि च्यासल रङ्गशालामा आवश्यक व्यवस्था मिलाइएको एन्फाले जानकारी दिएकाे छ । प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार चार सय रुपैयाँ रहेको बताइएको छ ।
फिफा वरीयतामा नेपाल १७५ औँ र लाओस १८६ औँ स्थानमा छ । याे खेलका लागि २५ सदस्यीय नेपाली टोली प्रशिक्षणमा रहेको एन्फाले जनाएको छ । खेल असोज २५ गते बिहीवार दशरथ रङ्गशालामा हुनेछ ।
