• Sunday 4th of October 2026

के अब बन्द होला फेसबुक ? अहिलेसम्म सूचीकृत गर्न सम्पर्कमा आएन


  • धनकुटा खबर
  • .

यतिबेला सामाजिक सञ्जालमै फेसबुक चल्ला कि बन्द होला भन्ने बहस फेसबुक प्रयोगकर्ताले गरिरहेका छन् ।

फेसबुकमै स्टाटस लेखेका छन्, ‘तपाईंको फेसबुक बन्द भयो कि ? मेरो त खुल्लै छ । त्यही भएर यत्ति लेखेँ ।’

हुन पनि सरकारले सूचीकृत हुन दिएको समयसीमाको आज अन्तिम दिन हो । सरकारले भदौ १२ गते सार्वजनिक सूचना निकालेर अहिले नेपालमा चलिरहेका र नेपाल आउने तयारी गरिरहेका सामाजिक सञ्जाललाई अनिवार्य सूचीकरणका लागि भन्दै सात दिने सूचना निकालेको थियो ।

सूचना अनुसार आज राति १२ बजेअघि सूचीकरण गर्न सम्पर्कमा आइसक्नुपर्छ । तर आज पाँच बजेसम्म कुनै पनि सामाजिक सञ्जाल सम्पर्कमा नआएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्ले निर्णय गरेर सामाजिक सञ्जाल सूचीकृत नभएमा बन्द गरिदिने चेतावनी दिएको थियो । सामाजिक सञ्जालले आज राति १२ बजेसम्म एउटा मेल मात्रै गरेमा पनि कारबाही प्रक्रिया अघि नबढाउने तर कुनै सम्पर्क नगरेमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा जाने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए ।

यता फेसबुकले भने नेपालबाट पनि मनिटाइजेसनको प्रक्रिया अघि बढाएपछि प्रयोगकर्ता खुसी भएका छन् ।

सरकारले यसअघि टिकटकमाथि प्रतिबन्ध लगाएकोमा नेपालमा सूचीकृत हुन आएसँगै पुनः सञ्चालनमा आएको छ । केही समयअघि सरकारले टेलिग्रामलाई नेपालमा निष्क्रिय गरेको छ । अहिले विशेषगरी मेटा कम्पनीका फेसबुकलगायतका सञ्जाल र ट्विटर भनिने ‘एक्स’ लाई लिएर धेरैले चासो राखेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖