• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

इसराइलले फेरि गजामा आक्रमण गर्न सक्छ: ट्रम्प


  • धनकुटा खबर
  • .

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइलले फेरि गजामा आक्रमण गर्न सक्ने बताएका छन्।

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनसँगको टेलिफोन कुराकानीमा ट्रम्पले आफूले अनुमति दिएको खण्डमा इसराइलले पुनः गजामा हमासलक्षित सैन्य कारबाही चलाउन सक्ने चेतावनी दिएका हुन्।

इसराइलले हमासमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ।
सम्झौताअनुसार हमासले ७२ घन्टाभित्र सबै जीवित बन्धक र मृत्यु भएकाहरूको शव फिर्ता गर्नुपर्ने भनिएको थियो।
तर हमासले मृत्यु भइसकेका सबै बन्धकहरूको शव अझै फिर्ता गरेको छैन।

सिएनएनका अनुसार हमासले अहिलेसम्म ८ वटा शव इसराइललाई हस्तान्तरण गरेको छ। यद्यपि एउटा शव बन्धकको नरहेको भेटिएको थियो।

हमासले बाँकी मृत बन्धकको शव हस्तान्तरण गर्न समय लाग्ने भनेको छ।
उसले बाँकी बन्धकको शव भेटाउनका लागि विशेष उपकरण आवश्यक पर्ने बताउँदै तत्कालका लागि उपलब्ध बन्धकको शव फिर्ता गरिएको बताएको छ।

ट्रम्पले हमासले युद्धविराम उल्लंघन गरे आक्रमण गर्न सक्ने भनेर सम्झौतामै भनिएको बताएका हुन्।
‘यदी मैले अनुमति दिएँ भने इसराइली फौजहरू फेरि गजाको सडकमा देखिनेछन्,’ ट्रम्पले सिएनएनसँग भनेका छन्।
सम्झौताअनुसार हमासले हतियार नछाडेको खण्डमा पनि इसराइली सेना फेरि गजामा फर्कनसक्ने ट्रम्पले बताए।

युद्धविराम सहमति गर्दै हमासले हतियार त्याग्ने, गजाको सरकारमा प्रतिनिधित्व गर्ने विषयमा गम्भीर असहमति जनाएको थियो।
यद्यपि सम्झौतामा उल्लेख सबै विषय सबै पक्षले पालना नभए यद्धविराम भाँडिन सक्ने ट्रम्पले बताएका छन्।
ट्रम्पकै २० बुँदे प्रस्तावमा टेकेर गत बिहीबार गजामा युद्धविराम घोषणा भएको थियो।

त्यसपछि सोमबार हमासले सबै जीवित बन्धकहरूलाई मुक्त गरेको थियो।
युद्धविराम भएपछि गजामा हजारौं प्यालेस्टिनीहरू फर्किएर खण्डहर बनेको क्षेत्रमै बस्न थालेका छन्।

इसराइलले पुनः आक्रमण गरे त्यहाँ धेरै सं‍ख्यामा मानिसहरू मारिन सक्छन्।

इसराइलको आक्रमणमा हालसम्म झन्डै ६८ हजार प्यालेस्टिनीको मृत्यु भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖