• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

दिल्ली विस्फोट: कार पुलवामाका डाक्टरसँग जोडिएको खुलासा


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । दिल्लीको लाल किल्ला नजिक सोमबार साँझ भएको कार विस्फोटको सम्बन्ध जम्मु-कस्मिरका एक डाक्टरसँग जोडिएको खुलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ भने २१ जना घाइते भएका छन्।

दिल्ली प्रहरीको स्पेशल सेलका दुई अधिकारीहरूले हिन्दुस्तान टाइम्सलाई दिएको अनुसार, अनुसन्धानले पुलवामाका डा. उमर उन नबी नै विस्फोट हुँदा दुर्घटनाग्रस्त हुन्डाई आई-२० कार चलाइरहेको आशङ्का गरेको छ। प्रारम्भिक अनुसन्धानले उमर हालै हरियाणाको फरीदाबादमा ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद भएको आतंकवादी मोड्युलसँग जोडिएको देखाएको छ। यसअघि पनि उक्त मोड्युलको सम्बन्धमा जम्मु-कस्मिरका दुई अन्य डाक्टर पक्राउ परेका थिए।

उमरलाई कसरी पछ्याइयो?
प्रहरीका अनुसार, कारको मालिक पत्ता लगाउनु नै फरीदाबाद कनेक्सनको रहस्य खोल्ने मुख्य बाटो बन्यो। एक अनुसन्धान अधिकारीले भने, ‘कार सलमान नामका व्यक्तिको नाममा दर्ता थियो। उनले त्यो देवेन्द्र नामका व्यक्तिलाई बेचेको बताए। देवेन्द्रलाई सोधपुछ गर्दा उनले तारिक नामका व्यक्तिलाई बेचेको बताए। हामी तारिकको खोजी गरिरहेका बेला कार अन्तमा उमरको साथमा रहेको पत्ता लाग्यो।’

ती अधिकारीले थपे, ‘हामीले तारिकको खोजी गर्दा कार अन्तमा उमरको साथमा रहेको पत्ता लाग्यो। हामीले उनको खोजी गर्‍यौं र त्यसपछि पत्ता लाग्यो कि उनी नै आक्रमणको बेला आई-२० भित्र थिए। उनी आफ्ना डाक्टर साथीहरू मुजम्मिल शकिल र आदिल अहमद कै मोड्युलमा काम गरिरहेको पनि हामीले पत्ता लगायौँ।’

डा. आदिल अहमद राथर हिरासतमा परेको केही दिनपछि शकिललाई अक्टोबर ३० मा जम्मु-कस्मिर प्रहरीले पक्राउ गरेको थियो। सोधपुछपछि उनले जम्मु-कस्मिर प्रहरी, आईबी र फरीदाबाद प्रहरीको संयुक्त टोलीलाई उनीहरूको कथित लुक्ने ठाउँसम्म पुर्‍याए, जहाँ अधिकारीहरूले सोमबार लगभग २,९०० किलोग्राम अमोनियम नाइट्रेट र बम बनाउने अन्य सामग्रीहरू बरामद गरेका थिए।

दोस्रो अधिकारीका अनुसार, संदिग्ध उमरले आफ्ना साथीहरू पक्राउ परेपछि विस्फोट गराएको हुन सक्ने सम्भावना छ। ती अधिकारीले भने, ‘जम्मु-कस्मिर प्रहरीबाट पनि उनीहरूको संलग्नताको पुष्टि भएको छ।‘

उनले उमर नै आई-२० कार चलाउँदै थिए र सम्भवतः उनको मृत्यु भएको पनि बताए। ‘हो, हाम्रो प्रारम्भिक अनुसन्धानअनुसार उमर नै कार चलाउँदै थिए र सायद उनको मृत्यु भइसकेको छ। हामी शवगृहका डाक्टरहरूसँग यसबारे जाँच गर्दै छौँ,’ उनले भने।

दिल्ली प्रहरीले गैरकानुनी गतिविधि रोकथाम ऐन (युएपीए) अन्तर्गत, साथै भारतीय न्याय संहिता (बीएनएस) को हत्या र हत्या प्रयाससम्बन्धी धाराहरू र विस्फोटक पदार्थ ऐनका प्रावधानहरूअन्तर्गत एफआईआर दर्ता गरेको छ।

अनुसन्धानकर्ताहरूले विस्फोट कारमा लगिँदै गरेको कुनै उपकरण दुर्घटनावश पड्किएको हो कि भनी अनुसन्धान गरिरहेका छन्। विस्फोटको तीव्रता र तापक्रमले अमोनिया जेल वा यस्तै प्रकारको उच्च तीव्रताको विस्फोटक पदार्थको प्रयोग भएको सङ्केत गरेको अनुसन्धान अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖