• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

ठूलो भूकम्प जाने चेतावनी


  • धनकुटा खबर
  • .

ढाका । बंगलादेशमा शुक्रबार बिहान ५.७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १० जनाको मृत्यु भयो र राजधानी ढाका लगायत धेरै जिल्लाका धेरै भवनमा क्षति पुग्यो। यो भूकम्प अर्को ठुलो विनाशकारी भूकम्पको पूर्वसूचना हुनसक्ने चेतावनी विज्ञहरूले दिएका छन् ।

सरकारले तुरुन्तै कठोर उपायहरू अपनाएन भने क्षति धेरै बढी हुनसक्ने उनीहरुको भनाइ छ । शनिबार बङ्गलादेशमा तीन वटा हल्का भूकम्प गएको थियो ।

स्थानीय पत्रिकामा प्रकाशित रिपोर्टअनुसार शुक्रबारको भूकम्पले ढाकाको कमजोरीलाई स्पष्ट रूपमा उजागर गरेको छ । ढाका जिल्ला प्रशासनले १४ वटा भवनमा क्षति पुगेको पुष्टि गरेको छ। राजधानी उन्‍नयन कर्तृपक्ष (राजुक) ले ५० भन्दा बढी भवनमा क्षति पुगेको पुष्टि गरेको छ ।

अनुसन्धान अगाडि बढ्दै जाँदा यो सङ्ख्या बढ्ने विश्वास गरिएको छ। राजुकका अध्यक्ष एम. रियाजुल इस्लामले भने– ‘हाम्रो अनुसन्धान जारी छ। धेरै भवनहरू जोखिमपूर्ण छन् ।’ राजुकलाई वर्षौंदेखि निर्माण पर्यवेक्षणमा लापरबाही र कर्मचारी अभावको आरोप लाग्दै आएको छ।

विज्ञहरूको कडा चेतावनी

बङ्गलादेश भूकम्प समाजका उपाध्यक्ष प्रो.मुनाज अहमद नूरले राजुक सधैँ ठुलो विपत्ति पछि मात्र ब्युँझने बताए । बङ्गलादेश राष्ट्रिय भवन संहिताको कडाइका साथ पालना अनिवार्य भएको उनले जोड दिएका छन् । समस्याहरू प्रायः डिजाइनमा नभएर यसको कार्यान्वयनमा हुने पनि नूरले बताए ।

दरार आएका वा क्षति भएका भवनहरूको तुरुन्तै मूल्याङ्कन गरिनुपर्ने, जोखिमको आधारमा वर्गीकरण गरिनुपर्ने र कारबाही गरिनुपर्ने बङ्गलादेश इन्जिनियरिङ र प्रविधि विश्वविद्यालयका प्रो.मेहदी अहमद अन्सारीले चेतावनी दिएका छन् । ‘यी हालैका भूकम्पहरू पनि ठुलो भूकम्पको पूर्वसूचक हुन सक्छन्,’ उनले भने। ‘यदि अहिले नै कदम चालिएन भने ठुलो घटनाले ठुलो मात्रामा ज्यान गुमाउन सक्छ’ उनले भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖