नयाँ दिल्ली । गत महिना दिल्लीको लाल किल्ला नजिकै भएको कार बम विस्फोटको घटनामा राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले आठौँ अभियुक्तलाई पक्राउ गरेको छ।
एनआईएले एक्समार्फत जानकारी दिँदै भनेको छ, ‘दिल्ली बम विस्फोटको घटनामा मंगलबार एक जना मुख्य अभियुक्तलाई गिरफ्तार गरिएको छ।’
एजेन्सीका अनुसार, पक्राउ परेका अभियुक्त बिलाल नासिर माल्ला जम्मु(कश्मीरका बासिन्दा हुन् र उनलाई दिल्लीबाट पक्राउ गरिएको हो। एनआईएले जारी गरेको बयानअनुसार, एनआईएले लाल किल्ला क्षेत्रमा भएको आतंकवादी हमलाको षड्यन्त्रमा अभियुक्तको भूमिका रहेको पत्ता लगाएको छ। उक्त विस्फोटमा ११ जनाको मृत्यु भएको थियो।
एनआईएले बिलालले यस हमलामा मारिएका उमर उन नबीलाई सहयोग गरेको दाबी गरेको छ। यो गिरफ्तारीसँगै घटनाको अनुसन्धान थप अगाडि बढेको छ।
