चरिकोट । नेकपा एमाले दोलखाका उपसचिव हरि ओलीसहित दर्जन बढी जिल्ला कमिटी सदस्यले सामूहिक राजीनामा दिएका छन् । पार्टीभित्र एकलौटी निर्णय गरिएको भन्दै उपसचिव ओलीसहित दर्जन बढी जिल्ला नेताहरूले आइतबार सामूहिक राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा सचिवालय सदस्य गणेश शिवाकोटी, लेखा समितिका संयोजक ईश्वरीप्रसाद दाहाल, जिल्ला कमिटी सदस्यहरू श्यामसुन्दर शिवाकोटी, इन्द्रबहादुर थामी, रमा शिवाकोटी, सविना केसी, कुमार बस्नेत, प्रलाद लामिछाने, विक्रम खड्का, कालिन्चोक गाउँपालिका कमिटीका कार्यवाहक अध्यक्ष गणेशबहादुर शिवाकोटी, सचिव सुवास थामी लगायत रहेका छन् ।
उपसचिव हरि ओलीले पत्रकार सम्मेलन गरी आफूसहित दर्जन बढी जिल्ला नेताले सामूहिक राजीनामा दिएको जानकारी दिएका छन् । पार्टी नेतृत्वले निश्चित व्यक्तिको इसारामा मनोमानी ढङ्गले पार्टी चलाएको र एकलौटी निर्णय गरेर अघि बढेका कारण आफूहरूले सामूहिक राजीनामा दिएको पत्रकार सम्मेलनपछि जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
पार्टी नेता पार्वत गुरुङलाई फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवार सिफारिस गर्ने जिल्ला कमिटीको निर्णयपछि उपसचिव ओली लगायतका नेताहरूले सामूहिक राजीनामा दिएका हुन् । अर्का नेता बालकृष्ण शिवाकोटी पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न इच्छुक देखिएका थिए ।
शिवाकोटीको दाबीलाई लत्याएर बहुमतका आधारमा गुरुङलाई एकल उम्मेदवार सिफारिस गरिएको उनीहरूको आरोप छ । शिवाकाटीले पनि आजै पत्रकार सम्मेलन गरी गुरुङलाई एकल उम्मेदवार बनाउने निर्णयप्रति असहमति जनाएका थिए । शिवाकोटी २०७९ सालमा सम्पन्न आम निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार भई पराजित भएका थिए ।
एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले भने आधिकारिक उम्मेदवार पार्वत गुरुङ नै भएको बताएका छन् । आइतबार पत्रकार सम्मेलन गरी अध्यक्ष श्रेष्ठले यो जिल्ला कमिटीको आधिकारिक निर्णय भएको बताएका हुन् ।
उनले सर्वसम्मत रुपमा गुरुङलाई उम्मेदवार सिफारिस गर्ने निर्णय भएको बताउँदै पार्टीको निर्णयलाई अक्षरशः पालना गर्न सबै नेता कार्यकर्तालाई अपिल समेत गरेका छन् ।
