• Wednesday 7th of October 2026

कोशी कांग्रेसमा विद्रोह : एमालेको साथ लिएर केदार कार्कीद्वारा मुख्यमन्त्रीको दाबी


  • धनकुटा खबर
  • .

काठमाडौं । माओवादीका इन्द्र आङवोलाई कोशी प्रदेशमा मुख्यमन्त्री बनाउने गठबन्धन र नेपाली कांग्रेसले गरेको निर्णय विरुद्ध कांग्रेसका प्रदेश सभा सदस्यले विद्रोह गरेका छन् ।

सो निर्णयमा विद्रोह गर्दै कांग्रेसका आठ जना सांसदहरूले नेकपा एमालेको सहयोग लिएर नेपाली कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरी मुख्यमन्त्री बन्न आवश्यक सङ्ख्या पुर्‍याएका छन् । पार्टीको निर्णय विरुद्ध कार्कीसहित उदयपुरका रामकुमार खत्री र लीलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू र सुनसरीकी सुनिता गुरुङले हस्ताक्षर गरेर कार्कीलाई मुख्यमन्त्रीको दाबी पेस गर्न पठाउनुभएको छ ।

सत्तारुढ गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने निर्णय गरे लगत्तै नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले एमालेसँग सत्ता समीकरण गरेको हो ।

कांग्रेसका आठ र एमालेका ३९ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित कार्की मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुख प्रमुखको कार्यालय पुग्नुभएको छ । कोशी प्रदेश सभामा एमालेका उपसभामुखसहित ४० सांसद छन् । सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्दा सांसदलाई ह्विप नलाग्ने र स्वतन्त्र हैसियत रहने सर्वोच्च अदालतको व्याख्या छ । संघीय सकारमा शेरबहादुर देउवाले एमालेका माधव नेपाल लगायतको मत लिएर सोही फैसलामा टेकी सरकार बनाउनुभएको थियो ।

उता नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले उपनेताबाट राजीनामा दिनुभएको छ । उहाँले आज कोशी प्रदेश सभाको दलको उपनेताबाट राजीनामा दिनुभएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖