काठमाडौ । नेपाल सरकार, गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालयले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ठूलो सङ्ख्यामा म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाएको छ। प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै देशभरका विभिन्न स्थानमा खटिने गरी १ लाख ३३ हजार ९ सय ८० जना म्यादी प्रहरी आवश्यक पर्ने जनाएको हो।
इच्छुक नेपाली नागरिकहरूले काठमाडौँ उपत्यकाभित्रका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रहरी परिसर तथा देशभरका सबै ७७ जिल्ला प्रहरी कार्यालयहरूमा स्वयम् उपस्थित भई दरखास्त दिन सक्नेछन्। दरखास्त फाराम २०८२ पुस २६ गतेदेखि २०८२ माघ १ गतेसम्म सार्वजनिक बिदाको दिनसमेत बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म बुझाउन सकिनेछ।
म्यादी प्रहरीमा भर्ना हुनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ। यसअनुसार २०२८/१०/०१ देखि २०६४/१०/०१ सम्म जन्ममिति भएका नेपाली नागरिकले आवेदन दिन पाउनेछन्। साधारण लेखपढ गर्न जान्ने, कुनै राजनीतिक दलको सदस्य नरहेको, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको तथा शारीरिक र मानसिक रूपमा स्वस्थ व्यक्ति योग्य ठहरिनेछन्।
शारीरिक मापदण्डअनुसार पुरुषको उचाइ कम्तीमा ५ फिट २ इन्च, छाती ३१ देखि ३३ इन्च र तौल ५० केजी हुनुपर्नेछ भने महिलाको हकमा उचाइ कम्तीमा ५ फिट र तौल ४२ केजी तोकिएको छ। भर्ना प्रक्रियामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्व कर्मचारी, पूर्व वनरक्षक, अघिल्ला निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरिसकेका व्यक्ति तथा विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा सेवा गरेर अवकाश प्राप्त नेपाली नागरिकलाई प्राथमिकता दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
४० दिनको कार्यअवधि रहने म्यादी प्रहरीलाई प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले जम्मा ३४ हजार ७७६ रुपैयाँ तलब प्रदान गरिनेछ। यसका साथै सम्बन्धित जिल्लाको दररेटअनुसार खाद्यान्न भत्ताको रकम व्यक्तिगत बैंक खातामा जम्मा गरिनेछ। तयारी खर्चबापत एकमुष्ट ८४६ रुपैयाँ, खाजा खर्चबापत प्रतिदिन ३०० रुपैयाँका दरले चार दिनका लागि १ हजार २०० रुपैयाँ तथा प्रहरी प्रधान कार्यालयले तोकेको दररेटअनुसार पोसाक खर्च उपलब्ध गराइनेछ। ड्युटीका क्रममा घाइते वा मृत्यु भएमा सरकारले तोकेबमोजिमको क्षतिपूर्ति र बिमा सुविधा समेत प्रदान गरिने व्यवस्था गरिएको छ।
दरखास्त दिएका उम्मेदवारहरूले २०८२ माघ ४ गते बिहान ११ बजे सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क राख्नुपर्नेछ। छनोट प्रक्रिया माघ ५ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने र अन्तिम नतिजा माघ १२ गते सार्वजनिक गरिने नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ। छनोटमा परेका उम्मेदवारहरूको तालिम माघ १५ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिनेछ।
