• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

‘सजिलो’ वा ‘अप्ठ्यारो’ जुनसुकै तरिकाले भए पनि ग्रीनल्याण्ड कब्जा गर्छौँ : ट्रम्प


  • धनकुटा खबर
  • .

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनको बढ्दो प्रभाव रोक्न अमेरिकाले ग्रीनल्याण्डमाथि आफ्नो स्वामित्व कायम गर्नुपर्ने दोहोर्‍याएका छन्। शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भाडामा लिएर सुरक्षा गर्नुभन्दा पूर्ण स्वामित्व लिएर रक्षा गर्नु उचित हुने तर्क गरेका हुन्।

उनले ग्रीनल्याण्डलाई अमेरिकाले ‘सजिलो’ वा ‘अप्ठ्यारो’ जुनसुकै तरिकाले भए पनि आफ्नो नियन्त्रणमा लिने चेतावनी दिएका छन्। ह्वाइट हाउसले डेनमार्कको यो अर्ध-स्वायत्त क्षेत्र किन्ने योजना बनाएको भए पनि आवश्यक परे बल प्रयोग गरेर कब्जा गर्ने विकल्पलाई समेत नकारेको छैन।

डेनमार्क र ग्रीनल्याण्डले भने यो क्षेत्र बिक्रीका लागि नभएको स्पष्ट पारिसकेका छन्। डेनमार्कले अमेरिकी सैन्य हस्तक्षेप भएमा ट्रान्स-एट्लान्टिक रक्षा गठबन्धन (नेटो) को अन्त्य हुने चेतावनी दिएको छ।

ग्रीनल्याण्डको भौगोलिक अवस्थिति उत्तर अमेरिका र आर्कटिकको बिचमा भएकाले यो क्षेप्यास्त्र आक्रमणको पूर्वसूचना दिने प्रणाली र समुद्री जहाजहरूको निगरानीका लागि रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। ट्रम्पले कुनै प्रमाण बिना नै ग्रीनल्याण्डमा रुसी र चिनियाँ जहाजहरू जताततै रहेको दाबी गर्दै यसलाई अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अत्यावश्यक बताएका छन्।

अमेरिकाले दोस्रो विश्वयुद्धदेखि नै ग्रीनल्याण्डको उत्तर-पश्चिमी भेगमा रहेको पिटुफिक बेस सञ्चालन गर्दै आएको छ, जहाँ १०० भन्दा बढी अमेरिकी सैनिकहरू स्थायी रूपमा तैनाथ छन्। डेनमार्कसँगको विद्यमान सम्झौता अनुसार अमेरिकाले त्यहाँ जति पनि सेना पठाउन सक्ने अधिकार पाएको छ।

तर ट्रम्पले १०० वर्षको सम्झौताले पनि नहुने भन्दै पूर्ण स्वामित्वमै जोड दिएका हुन्। उनले आफूलाई रुस र चीनका जनता मन पर्ने भए पनि उनीहरूलाई ग्रीनल्याण्डमा छिमेकीका रूपमा स्वीकार्न नसकिने बताए।

डेनमार्कका नेटो सहयोगी राष्ट्रहरू क्यानडा र अन्य युरोपेली देशहरूले भने डेनमार्कको समर्थन गरेका छन्। उनीहरूले ग्रीनल्याण्डको भविष्यबारे निर्णय गर्ने अधिकार डेनमार्क र ग्रीनल्याण्डसँग मात्रै भएको बताएका छन्।

संयुक्त राष्ट्रसंघको बडापत्र, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सिद्धान्तलाई पालना गर्नुपर्नेमा जोड दिँदै सहयोगी राष्ट्रहरूले आर्कटिक सुरक्षाका लागि अमेरिकाले सबै मित्र राष्ट्रहरूसँग मिलेर सामूहिक रूपमा काम गर्नुपर्ने धारणा राखेका छन्।-बीबीसी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖