• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

सिरियामा अमेरिकाको ‘अपरेशन हकआई स्ट्राइक’ : ९० भन्दा बढी क्षेप्यास्त्र प्रहार


  • धनकुटा खबर
  • .

अलेप्पो । अमेरिकी सेना र उसका साझेदार शक्तिहरूले सिरियामा इस्लामिक स्टेट (आईएस) समूहका लक्ष्यहरूमाथि ठुलो स्तरको हवाई आक्रमण गरेका छन्। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा ‘अपरेशन हकआई स्ट्राइक’ अन्तर्गत यी हमलाहरू गरिएका हुन्।

गत डिसेम्बर १३ मा सिरियामा अमेरिकी सेनामाथि भएको घातक हमलाको बदला लिन यो कारबाही गरिएको सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएको छ। आतंकवाद विरुद्ध लड्न र क्षेत्रमा रहेका अमेरिकी तथा साझेदार बलहरूको सुरक्षाका लागि यो कदम चालिएको दाबी गरिएको छ। सेन्टकमले आफ्ना सैनिकलाई हानि पुर्‍याउने जोकोहीलाई विश्वको जुनसुकै कुनामा भए पनि खोजेर कारबाही गर्ने चेतावनी दिएको छ।

यस सैन्य कारबाहीमा २० भन्दा बढी विमानहरू प्रयोग गरिएको र ३५ भन्दा बढी स्थानमा ९० वटा भन्दा बढी सटिक निसाना लगाउने हतियार (प्रेसिजन म्युनिसन) प्रहार गरिएको अधिकारीहरूले बताएका छन्। आक्रमणमा अमेरिकी एफ-१५ई, ए-१०, एसी-१३०जे, एमक्यू-९ ड्रोन र जोर्डनका एफ-१६ लडाकु विमानहरू संलग्न थिए।

हालसम्म यो हमला कुन–कुन स्थानमा भयो र यसबाट कति हताहती भयो भन्ने विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन। अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले यो सैन्य एक्सनलाई लिएर आफूहरू कहिल्यै नझुक्ने र नबिर्सने बताएका छन्।

सिरियाको पाल्मिरामा आईएस बन्दुकधारीको एम्बुस परी दुई अमेरिकी सैनिक र एक नागरिक अनुवादकको मृत्यु भएपछि डिसेम्बर महिनामा ट्रम्प प्रशासनले ‘अपरेशन हकआई स्ट्राइक’ घोषणा गरेको थियो। हेग्सेथले यो कारबाही युद्धको सुरुवात नभई प्रतिशोधको घोषणा भएको बताएका छन्।

शनिबारको ठुलो हमला हुनुअघि पनि डिसेम्बर २० देखि २९ को बिचमा गरिएका ११ वटा विभिन्न मिसनमा करिब २५ जना आईएस सदस्यहरू मारिएका वा पक्राउ परेका थिए। अमेरिकाले आफ्ना नागरिकको रक्षाका लागि राष्ट्रपति ट्रम्पको नेतृत्वमा यस्ता कठोर कदम चालिरहने स्पष्ट पारेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖