काडमाडौं । ‘हरेक पटक म सडकमा थिएँ, यो पटक भइन । मलाई माफ गरिदेउ इरान आमा ।’ सामाजिक सञ्जालमा एक्स (ट्विटर) मा भेटिएको यो पोस्ट तिनै युवतीको हो जसले चुरोट तान्दै इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको तस्वीर जलाएकी थिइन् ।
एक्समा मोर्टिशिया एडम्स नामको ह्याण्डिलबाट पोस्ट गर्छिन् यी युवती । २५ वर्षीया यी इरानी युवती हाल क्यानाडामा बस्दै आएकी छन् । एडम्सले आफ्नो बायोमा र्याडिकल फेमिनिस्ट लेखेकी छन् ।
उनका अनुसार नोभेम्बर २०१९ मा भएको विरोध प्रदर्शनका दौरान उनलाई गिरफ्तार गरिएको थियो ।
मोर्टिशिया एडम्स अहिले इरानमा जारी आन्दोलनमा त्यहाँ हुन नपाएकोमा खिन्न छिन् । जारी आन्दोलनमा खामेनी सरकारले प्रदर्शनकारीमाथि गोली बर्साएको भन्दै उनले मृतक र पीडित परिवारसँग माफी मागेकी छन् ।
इस्लामिक गणतन्त्र इरानमा चरम आर्थिक संकटका बीच जारी आन्दोलन क्रममा यी युवतीले चुरोट तान्दै खामेनीको तस्वीर लाइटर बालेर जलाएको भिडियो र फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
उनको एक्स अकाउन्टमा हेर्दा मोर्टिशियाले ८ जनवरीमा तस्वीर र ९ जनवरीमा खामेनीको तस्वीर जलाएको भिडियो अपलोड गरेको देखिन्छ । उनको आफ्नै अकाउन्टमा पनि उक्त भिडियो १४ लाखभन्दा बढी पटक हेरिएको छ ।
