• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

गगन थापासँग पाण्डेलाई भिडाउने, आफैँ केपी शर्मा ओलीको क्षेत्रमा जाने बालेनको योजना


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डे आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–४ बाट उम्मेदवार बन्ने तयारीमा जुटेका छन्। उनी मेयर बालेन्द्र शाह (बालेन)सँगै पदबाट राजीनामा दिने तयारीमा रहेको स्रोतले जनाएको छ। बालेन निकट स्रोतका अनुसार मेयर शाहले नै पाण्डेलाई काठमाडौं–४ बाट उम्मेदवार बनाउने रणनीति अघि बढाइरहेका छन्।

बालेन निकट एक नेताका अनुसार पाण्डेले काठमाडौंबाट चुनाव लड्ने तयारी गरिरहेका छन् र मेयर शाहले पद छाड्नुअघि नै राजीनामा दिने मनस्थितिमा छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माघ ४ गते पदबाट राजीनामा दिने तयारी गरिरहेको पनि स्रोतले जनाएको छ।

सेतोपाटीसँगको कुराकानीमा राजु पाण्डेले मेयर शाहसँगै आफूले पनि राजीनामा दिन लागेको स्वीकार गरेका छन्। उनले भने, “मेयर साबले छाड्नु भएको महानगरमा म एक मिनेट पनि बस्दिनँ। उहाँले छाड्नु भन्दा अघि नै मैले छाड्न सक्छु। राजु पाण्डे महानगरमा रहँदैन।”

यद्यपि, काठमाडौं–४ बाट उम्मेदवार बन्ने विषयमा भने पाण्डेले स्पष्ट जवाफ दिएका छैनन्। “मैले कसैलाई उम्मेदवार बन्छु भनेर मागेको छैन। मैले यो बन्छु, त्यो बन्छु भनेर सोचेको पनि छैन,” उनले भने।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठनको तयारी हुँदा मेयर शाहले पाण्डेलाई गृहमन्त्री बनाउन चाहेका थिए। तर सुरक्षा निकायका प्रमुखहरूले पाण्डेलाई गृहमन्त्री मान्न अस्वीकार गरेका थिए।

मेयर शाहको निर्देशनमा पाण्डेले महानगरपालिकामा कडा शैलीमा काम गर्दै आएका थिए। उनले काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत सरोज गुराराईंलाई कार्यकक्ष प्रवेशमा रोक लगाएका थिए। जनप्रतिनिधि र कार्यकारी प्रमुख महानगर कार्यालय आउँदा समेत प्रहरी परिचालन गरेर रोक लगाएको घटनाले पाण्डे विवादमा तानिएका थिए।

काठमाडौं क्षेत्र नम्बर–४ बाट हालसम्म नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा लगातार निर्वाचित हुँदै आएका छन् र यसपटक पनि उनी सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन्। स्रोतका अनुसार बालेन शाहको चाहना पाण्डेलाई गगन थापासँग काठमाडौं–४ मा भिडाउने र आफू भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने रहेको छ।

यसरी बालेन शाह र राजु पाण्डेको सम्भावित राजीनामा तथा चुनावी तयारीले काठमाडौंको राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖