• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

उज्यालो नेपालबाट उदाएकी रिमा विश्वकर्मा, अन्ततः रास्वपामै अडिइन्


  • धनकुटा खबर
  • .

काठमाडौ । गत मंसिर १७ गते नेपाल प्रज्ञा–प्रतिष्ठानको हलमा उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा कार्यक्रम आयोजना गरिएको थियो। सो कार्यक्रममा चर्चित टेलिभिजन प्रस्तोता रिमा विश्वकर्मा मञ्चमा देखिइन्, किनकि उनलाई पार्टीको केन्द्रीय सदस्यका रूपमा सार्वजनिक गरिएको थियो। सधैं हँसिलो अनुहार, आत्मविश्वासी प्रस्तुति र चिटिक्क शैलीमा देखिने रिमाको त्यो दिनको हाउभाउ भने फरक देखिन्थ्यो। उनी निकै गम्भीर र राजनीतिक भाष्यमा केन्द्रित थिइन्, जसले उनी राजनीतिमा छिट्टै प्रवेश गरेको अनुभूति गराएको थियो।

मञ्चमा सम्बोधन गर्दै रिमाले राजनीतिमा आउनुको कारण स्पष्ट पारिन्। उनले जेन–जी आन्दोलनले आफूलाई राजनीतितर्फ प्रेरित गरेको बताउँदै देशले अब जवाफदेही नेतृत्व खोजिरहेको उल्लेख गरिन्। प्रधानमन्त्रीको कुर्सीमा बसेर पनि “गोली चलाउने आदेश कसले दियो थाहा छैन” भन्ने गैरजिम्मेवारी प्रवृत्तिको कडा आलोचना गर्दै उनले यस्तो नेतृत्व अब देशले नस्वीकार्ने भनाइ राखिन्। उनको यो अभिव्यक्तिपछि हल तालीको गडगडाहटले गुञ्जिएको थियो।

त्यसपछि रिमाले आफू राजनीतिमा आउन प्रेरित गर्ने उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङको प्रशंसा गरिन्। लोडसेडिङ अन्त्य गरेर देशमा उज्यालो ल्याएको निर्णयले आफ्नो जीवनमा प्रत्यक्ष प्रभाव पारेको भन्दै उनले कुलमानलाई नेतृत्वको प्रतीकका रूपमा स्वीकारेको बताइन्। कुलमानकै नेतृत्वमा देशको भविष्य उज्यालो बनाउने अभियानमा आफू सहभागी भएको उनको भनाइ थियो।

वाक्कलामा दक्ष रिमालाई कुलमानले पार्टीको सुरुवातदेखि नै अगाडि सारेका थिए। पार्टीका अधिकांश कार्यक्रममा उनलाई अग्रमोर्चामा राखिन्थ्यो, जसका कारण उज्यालो नेपाल पार्टीमा कुलमानपछिको अगुवा पात्र रिमा नै हुन् भन्ने धारणा बन्न थालेको थियो। यहीबीच उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता गर्ने सहमति भयो। कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच सात बुँदे सहमतिमा हस्ताक्षर भएपछि राजनीति वृत्तमा ठूलो तरंग पैदा भयो।

पुस १४ गतेको सहमतिअनुसार रास्वपाको समानुपातिक सूचीमा कुलमान पक्षका उम्मेदवारहरू समावेश गरिए। कुलमानले रिमा विश्वकर्मासहित केही व्यक्तिको नाम प्राथमिकताका साथ सिफारिस गरेका थिए। त्यसअनुसार रिमा दलित महिलातर्फ रास्वपाको समानुपातिक सूचीमा पहिलो नम्बरमा राखिइन्। स्रोतका अनुसार कुलमानले रिमालाई उक्त सूचीमा प्राथमिकता दिन विशेष जोड दिएका थिए।

तर रास्वपाले समानुपातिक सूचीमा चर्चित र सेलेब्रिटी व्यक्तिहरू समेटेको भन्दै व्यापक आलोचना भयो। त्यसपछि कुलमान पक्षबाट सूचीमा परेका केही उम्मेदवारहरूले नाम फिर्ता लिए पनि रिमाले भने उम्मेदवारी फिर्ता लिइनन्। औपचारिक रूपमा राजनीतिमा प्रवेश गरिसकेकाले उनको निर्णय स्वाभाविक ठानियो।

पुस २६ गते कुलमान घिसिङ र रवि लामिछानेबीचको एकता भंग भयो। आफू अपमानित भएको दाबी गर्दै कुलमान उज्यालो नेपाल पार्टीमै फर्किए। तर कुलमानको सिफारिसमा रास्वपाको सूचीमा परेकी रिमा भने उज्यालो नेपालमा फर्किनन्। उनले रास्वपामै रहने निर्णय गरिन् र निर्वाचन आयोगमा अद्यावधिक गरिएको समानुपातिक सूचीमा पनि पहिलो नम्बरमै रहिन्।

राजनीतिक विश्लेषकहरूका अनुसार रास्वपामै रहेर समानुपातिक सांसद बन्ने सम्भावना सुनिश्चित गर्न रिमाले यो निर्णय लिएको देखिन्छ। उज्यालो नेपाल पार्टीको समानुपातिक भविष्य अनिश्चित देखिएको अवस्थामा रास्वपा रोज्नु उनको राजनीतिक रणनीति भएको बुझाइ छ।

रास्वपाका एक नेताका अनुसार कुलमानले एकता तोडे पनि रिमा रास्वपामै रहनेछिन् र समानुपातिक उम्मेदवारका रूपमा निर्वाचन लड्नेछिन्। यो निर्णय रिमाको व्यक्तिगत भएको भन्दै पार्टीले सम्मान गर्ने बताइएको छ। उता कुलमानलाई पनि रिमाले आफू तत्काल रास्वपा छाड्न नसक्ने सन्देश पठाइसकेको स्रोतले जनाएको छ। सन्देशमा उनले भनेकी छिन्, “अहिलेलाई सरी दाइ, पछि सँगसँगै बसौँला।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖